पर्सा– बहुचर्चित राजपुर बम विस्फोट तथा इँटाभट्टा हत्याकाण्डमा दोषी ठहरिई जन्मकैदको सजाय पाएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले दोषमुक्त ठहर गर्दै सफाइ दिएको छ।

न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालत रौतहटले २०८१ वैशाखमा सुनाएको जन्मकैदको फैसला उल्टाउँदै बुधबार आलमलाई रिहा गर्न आदेश दिएको हो। ललितपुरस्थित नख्खु कारागारमा रहेका आलम बुधबार साँझ छुटेका छन् ।  

१२ वर्ष पुरानो घटनामा पुनरावलोकन

२०६४ साल चैत २७ मा संविधानसभा निर्वाचनको अघिल्लो रात रौतहटको राजपुर नगरपालिका–४, फरदवा गाउँस्थित शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट भएको घटनामा आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीसमेत संलग्न रहेको आरोप थियो।

विस्फोटमा घाइते भएका त्रिलोकप्रताप सिंह उर्फ पिन्टु र ओसी अख्तरलाई आलमले इँटाभट्टामा लगेर जिउँदै जलाएर मारेको अभियोग थियो।जिल्ला अदालत रौतहटले घटनामा २३ जनाको हत्या गरिएको ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।

अदालतले के भन्यो?

तर उच्च अदालत वीरगञ्जले जिल्ला अदालतको फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएको हो। अदालतको आदेशमा भनिएको छ–

घटनास्थलमा बम विस्फोट भएको भन्ने वस्तुनिष्ठ प्रमाण पुष्टि हुन नसकेको।

घाइते भनिएका व्यक्तिहरूलाई इँटाभट्टामा लगेर जलाइएको भन्ने ठोस प्रमाण अदालतमा पेस हुन नसकेको।

शव परीक्षण, पोस्टमार्टम रिपोर्ट र विधिविज्ञान परीक्षणबाट पनि आरोप पुष्टि हुन नसकेको।

अदालतले यिनै आधारमा आलमलाई दोषमुक्त ठहर गर्दै रिहा गर्न आदेश दिएको हो। नख्खु कारागार स्रोतका अनुसार अदालतको पत्र आइसके पछि सम्पूर्ण प्रक्रिया पुर्याएर रिहा गरिएको हो । 

घटनाको पृष्ठभूमि

२०७६ कात्तिक १८ मा आलमसहित ११ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। उनी ०७६ असोज २६ मा पक्राउ परेका थिए।तर यसअघि नै जिल्ला प्रहरी कार्यालय, सरकारी वकिलको कार्यालय र पुनरावेदन वकिल कार्यालयले घटनास्थलमा बम विस्फोट नभएको भन्दै मुद्दा नचलाउने राय दिएका थिए।

महान्यायाधिवक्ता यज्ञमूर्ति बञ्जाडेले पनि सोही आधारमा मुद्दा नचलाउने निर्णय गरेका थिए।तर पीडित पक्षले सर्वोच्च अदालतमा निवेदन दिएपछि न्यायाधीश सुशीला कार्की र डा. भरतबहादुर कार्कीको इजलासले पुनः अनुसन्धान गर्न आदेश दिएको थियो।

सामाजिक प्रतिक्रिया र राजनीतिक तरंग

उच्च अदालतको फैसलापछि रौतहटको राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ भने सामाजिक सञ्जालमा यस विषयले तीव्र बहस सिर्जना गरेको छ।यस फैसलाले आलमको लामो कानुनी लडाइँमा नयाँ मोड ल्याएको छ भने पीडित पक्षले सर्वोच्च अदालतमा पुनरावेदनको तयारी थालेको जनाएको छ।

#राजपुर# बम# विस्फोट #तथा #इँटाभट्टा #हत्याकाण्ड