विराटनगर – लिबरल पार्टीको अधिवेशनमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार बिदाइ भाषण दिए पछि आफ्नो कुर्सी उठाएर संसदबाट बाहिर निस्किएको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

तस्बिरमा उनी कुर्सी बोकेर बाहिर निस्किँदै गर्दा क्यामेरातिर आफ्नो जिब्रो निकालेर देखाइरहेका देखिन्छन् । यसलाई व्यङ्ग्य मिश्रित रमाइलोको रुपमा हेरिँदैछ ।

क्यानाडाको संसदीय परम्परा अनुसार सांसदहरूलाई पद छोड्दा आफ्नो कुर्सी पनि साथमा लैजान अनुमति दिइन्छ। टोरन्टो सनका राजनीतिक स्तम्भकार ब्रायन लिलीले सामाजिक सञ्जाल एक्समा भनेका छन्,'मलाई यो महान परम्परा लाग्छ, म समर्थन पनि गर्छु। यसो भए पनि, यो ट्रुडोको कुर्सी लिएर निस्कँदै गरेको गरेको यो अनौठो तस्बिर हो। सायद आसन्न चुनावको अर्को संकेत पनि हो ।'

ट्रुडोको उक्त अदभुत तस्बिरले  चाँडै नै चुनाव हुने संकेत गरेको हुनसक्ने सञ्चारमाध्यमहरुले जनआएको छ । बिदाइ भाषण दिइरहँदा ट्रुडो  भावुक देखिन्थे । उनले प्रधानमन्त्रीको रूपमा अन्तिम पटक पार्टी र समर्थकहरूलाई सम्बोधन गर्दै भने, 'मलाई गलत नसम्झनु, १० वर्षमा गरेको काममा मलाई धेरै गर्व छ। तर आजको रात हाम्रो पार्टी, देशको भविष्यको बारेमा हो।'

ट्रुडोले समर्थकहरूलाई सक्रिय रहन पनि आग्रह गरे। उनले भने, 'तपाईंको देशलाई पहिलेभन्दा बढी तपाईंको आवश्यकता छ। उदारवादीहरू यस क्षणमा उठ्नेछन् । यो राष्ट्रलाई परिभाषित गर्ने क्षण हो। लोकतन्त्र र स्वतन्त्रताका लागि निरन्तर प्रयास आवश्यक पर्दछ। यसको लागि साहस, त्याग, आशा र कडा परिश्रम चाहिन्छ।'  क्यानाडालाई अमेरिकामा गाभ्ने राष्ट्रपति डोनाल्ड ट्रम्प तिर उनको भनाइ लक्षित छ ।

ट्रुडोले एक दशकमा प्राप्त उपलब्धिहरूलाई बिर्सन नहुने, आउँदो १० वर्ष र दशकहरूमा अझ धेरै हासिल गर्न प्रेरित हुनुपर्ने बताएका छन्।

मार्क कार्नी क्यानडाको आगामी प्रधानमन्त्री हुनेछन्। उनले जस्टिन ट्रुडोको स्थान लिनेछन्। आइतबार राति लिबरल पार्टीले उनलाई आफ्नो नेतामा चयन गरेको हो। कार्नीले ८५.९% मत प्राप्त गरेका छन्।

प्रधानमन्त्री पदको प्रतिस्पर्धामा कार्नीले पूर्वअर्थमन्त्री क्रिस्टिया फ्रिल्याण्ड, पूर्व सरकारी सदन नेता करिना गोल्ड र पूर्व संसद सदस्य फ्र्याङ्क बेलिसलाई पछारेका छन्। उनी कुनै पनि विधायिकी वा मन्त्रिपरिषद्को अनुभव नभएको पहिलो क्यानाडाली प्रधानमन्त्री बन्दैछन् ।