विराटनगर– ‘अब सर्वोच्च अदालतको ढोका ढकढक्याउन जान्छु’, ८४ वर्षीय श्रीनारायण सिंहको यो वाक्य सुन्दा शब्दभन्दा पीडा ठूलो लाग्छ। रौतहटको यमुनामाई–४ सरुअठा गाउँका सिंह १७ वर्षदेखि एउटै भरोसामा बाँचे – कि एक दिन छोरा त्रिलोकप्रताप सिंहको हत्यामा संलग्न भनिएका पूर्वमन्त्री मोहम्मद आफताब आलमसहितलाई कठोर सजाय हुनेछ।

२०६४ को चैत २७ मा पहिलो संविधानसभा निर्वाचनको अघिल्लो रात रौतहटको तत्कालीन राजपुर गाविस–४, फरहदवास्थित शेख इद्रिसको गोठमा भएको बम विस्फोटमा त्रिलोक र छिमेकीको छोरा ओसी अख्तर घाइते भए। श्रीनारायणको भनाइमा घटना ढाकछोप गर्न घाइतेलाई सुई लगाएर बेहोस बनाइ नजिकैको इँटाभट्टामा जिउँदै जलाइएको थियो।

सोध्नुपर्ने प्रश्नहरू धेरै थिए, तर जवाफ कहिल्यै भरपर्दो रूपमा आएनन्। अदालत धाउँदा धाउँदा उनले तीन बिघा जमिन बेच्नुप¥यो। कहिले काठमाडौँ त कहिले गौर – सिंह न्याय माग्दै हिँडे। २०७६ सालमा पूर्वमन्त्री आलम पक्राउ परेपछि उनले ‘न्याय मरेको छैन’ भन्ने आशा गरेका थिए। २०८१ को वैशाख १३ मा रौतहट जिल्ला अदालतले आलमलाई जन्मकैदको फैसला सुनाएपछि सिंहको आँखामा आँसु झरे – पीडाबाट होइन, सन्तोषको भावनाबाट।

तर त्यसको ठीक एक वर्षपछि, २०८२ को जेठ १५ मा उच्च अदालत जनकपुरको वीरगन्ज इजलासबाट आलमसहित चार जनालाई सफाइ मिल्यो। ‘जिल्लाले न्याय दियो, तर उच्च अदालतले मलाई न्याय दिएन,’ श्रीनारायण सिंह सञ्चारकर्मीहरुसँग भने, ‘अब त सर्वोच्चमा अन्तिम आशा बाँकी छ।’

भन्न सजिलो होला –‘अदालतको फैसला प्रमाणमा आधारित हुन्छ।’ तर त्रिलोक उनका कान्छा छोरा थिए, जिन्दगीका बाँकी सपना उनीसँग गाँसिएका थिए। भारतको गोयन्का कलेजमा बीएससी पढ्दै गरेका त्रिलोक चुनावका कारण घर आएका थिए ।
उच्च अदालतको फैसलामा भनिएको छ – घटनास्थलको प्रमाण पुष्टि हुन सकेन, घाइतेलाई जिउँदै जलाइएको भन्ने ठोस प्रमाण देखिएन। तर सिंहको आँखा अगाडिको पीडाले प्रमाण खोज्दैन – न्याय पाउने आशमा बाँचेका छन् उनी।

अहिले श्रीनारायण सिंह मानसिक तनावमा छन्, असुरक्षित महसुस गरिरहेका छन्। जिल्ला अदालतको फैसलापछि दिइएको अंगरक्षक पनि हटाइएको छ।

त्रिलोक सिंहका दाजु सत्येन्द्रप्रताप हाल बुवाको हेरचाहमा छन्। परिवारको मनमा फेरि एकपटक उही प्रश्न उब्जिएको छ – न्याय सधैं शक्तिशालीका लागि मात्र हो?

यस घटनाले नेपालको न्याय प्रणाली, राजनीतिक प्रभाव र पीडितको १७ वर्षे प्रतीक्षा सबैको ध्यान खिचेको छ। अब सबैको नजर सर्वोच्च अदालततर्फ छ – जहाँ श्रीनारायण सिंह फेरि ढोका ढकढक्याउन जाने तयारीमा छन्।

# रौतहट#बम# विस्फोट