विराटनगर– काठमाडौंको बूढानीलकण्ठबाट झन्डै ३ अर्ब रुपैयाँ बराबरको अनलाइन जुवा (सट्टाबाजी) कारोबारमा संलग्न गिरोहका ११ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत राजस्थानका २४ वर्षीय सनी मिणा, २५ वर्षीय मोहित बर्मा, २६ वर्षीय पिउस भारद्वाज, २५ वर्षीय हरकेश डडैया, २२ वर्षीय निशान्त भारद्वाज, २३ वर्षीय आकाश बर्मा, १९ वर्षीय अंकितकुमार सैनी, २३ वर्षीय सन्जु शाकला, २८ वर्षीय रामसिंह जाठ, १९ वर्षीय लोकेश कुमार र १९ वर्षीय विकास कुमार छन् । काठमाडौं प्रहरी परिसरका अनुसार बूढानीलकण्ठ नगरपालिका–३, देउला टोलस्थित एक घर भाडामा लिएर अनलाइन जुवा खेलाउने सूचना पाएपछि मंगलबार विशेष टोली खटाइएको थियो ।
३ अर्बको कारोबार, ९६ लाखको क्रिप्टो समेत प्रयोग
प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका व्यक्तिहरूले २ अर्ब रुपैयाँभन्दा बढी रकमको अनलाइन सट्टाबाजी सञ्चालन गरिरहेको र करिब ९६ लाख ३३ हजार रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबारसमेत गरिरहेको खुलेको प्रहरीले जनाएको छ ।
ठूलो परिमाणमा इलेक्ट्रोनिक सामग्री बरामद
प्रहरीले उनीहरूबाट विभिन्न कम्पनीका ३४ मोबाइल, ५ ल्यापटप, ४ हिसाब किताब अभिलेख राखिएको नोटबुक, १४ भारतीय बैंक खाता चेकबुक, २७ भारतीय एटीएम कार्ड र ४० भारतीय सिमकार्ड बरामद गरेको छ । काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।