विराटनगर — उच्च अदालत वीरगञ्जले नेपाली कांग्रेसका नेता अफताव आलमलाई रिहा गर्न दिएको आदेशप्रति सत्तारुढ दल नेकपा एमालेले पनि गम्भीर टिप्पणी गरेको छ। पार्टीका महासचिव शंकर पोखरेलले न्यायिक क्षेत्र ‘दोषी चस्मा’ र ‘अन्धा कानुन’ जस्ता मिथकबाट ग्रस्त भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै पोखरेलले लेखेका छन्, ‘न्यायका नौ सिङ’, ‘दोषी चस्मा’ र ‘अन्धा कानुन’ जस्ता मिथकबाट नेपालको न्यायिक क्षेत्र ग्रस्त छ भन्ने भाष्य प्रवल बन्दैछ, गम्भीर बनौं।’

रौतहट जिल्ला अदालतले दिएको जन्मकैदको फैसला उल्टाउँदै उच्च अदालत वीरगञ्जले आलमलाई रिहा गर्न आदेश दिएको हो। अदालतको उक्त निर्णयबारे चर्को आलोचना भइरहेका छन्। विशेषतः कांग्रेस सरकारमा रहँदा नियुक्त गरिएका न्यायाधीशहरूले आलमलाई रिहा गर्ने आदेश दिएको भन्दै न्यायालयको निष्पक्षता माथि प्रश्न उठाइएको छ।

गम्भीर प्रकृतिको मुद्दामा पर्याप्त विचार नगरी गरिएको फैसलाप्रति नेताहरू खुलेर नबोलेको अवस्थामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने फैसलाको भोलिपल्टै उक्त निर्णय कलंकको रूपमा रहने बताएका थिए।

त्यसपछि प्रमुख नेताहरू मौन देखिए पनि नेकपा (एस) का उपमहासचिव प्रकाश ज्वाला र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले भने अदालतको आदेशप्रति सार्वजनिक रुपमा असहमति जनाएका छन्। साथै विभिन्न मानवअधिकारकर्मीहरूले पनि उक्त फैसलाको आलोचना गरेका छन्।

#शंकर पोखरेल