वाशिंगटन (एएफपी)– अमेरिकाको वासिङ्टन राज्यको ह्वाटकम काउन्टीमा मह उत्पादनका लागि मौरी बोकेको ठूलो मालवाहक सवारी साधन दुर्घटना भएपछि करिब २५ करोड मौरीहरू भागेका छन्। मौरीहरू आक्रामक हुनसक्ने भन्दै प्रहरी प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

क्यानाडाको सीमासँग जोडिएको ह्वाटकम काउन्टीमा भएको दुर्घटनापछि मौरीहरू अनियन्त्रित रूपमा विभिन्न स्थानमा फैलिएका हुन्।  झुण्ड आक्रामक बनेर मानिसहरूलाई टोक्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरी कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो।

ह्वाटकम काउन्टीका शेरिफ कार्यालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सूचनामा भनिएको छ —

‘मालवाहक सवारी साधनबाट छुटेका करिब २५ करोड मौरीहरू एकैचोटि भागेका छन्। उनीहरू बाटोमा अवरोध भइ झुम्मिन सक्छन्, आक्रोशित भइ टोक्न सक्छन्, त्यसैले घटनास्थल वरपरका क्षेत्रमा विशेष सतर्कता अपनाउनुहोस्।’

घटनास्थल भ्यानकुभर सहरबाट झन्डै ४८ किलोमिटर दक्षिणमा पर्छ। मौरीको नियन्त्रण र सफाइका लागि विज्ञहरूको टोली परिचालन गरिएको छ भने सुरक्षाका कारण केही सडकहरू अस्थायी रूपमा बन्द गरिएको छ।

वासिङ्टन लगायत अमेरिकाका पश्चिमी राज्यहरूमा मौरीपालकहरू केवल मह उत्पादनका लागि मात्र नभइ कृषकलाई बालीको परागप्रक्रिया गराउन मौरी भाडामा दिने प्रचलनसमेत रहेको छ। यसबाट उनीहरूले उल्लेखनीय आम्दानी पनि गर्दै आएका छन्।

#२५# करोड #मौरी