विराटनगर– नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको सोमबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकमा राजसंस्था पुनःस्थापनाका पक्षधरहरूद्वारा भइरहेका आन्दोलनबारे गम्भीर छलफल भएको छ।
बैठकमा सहभागी नेताहरूले पछिल्लो समय राजसंस्थावादी प्रदर्शनहरू सक्रिय र संगठित रूपमा अगाडि आइरहेकाले त्यसको प्रत्युत्तरस्वरूप कांग्रेसले सातै प्रदेशमा गणतन्त्र पक्षधर प्रदर्शनको आयोजना गर्नुपर्ने धारणा राखेका थिए।
महामन्त्री गगन थापा र केन्द्रीय सदस्य कृष्ण सिटौला लगायतका नेताहरूले संविधानको मूल्य र गणतान्त्रिक व्यवस्थाको रक्षा गर्न पार्टीले सार्वजनिक रूपमै सडक सन्देश दिनुपर्ने आवश्यकता औंल्याएका थिए। पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले पनि उक्त धारणा समर्थन गरेका थिए।
बैठकका क्रममा सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय केही राजावादी व्यक्तिहरूले आफूलाई भेट्न आएका जानकारी बैठकमा दिएका थिए। तर देउवाले कांग्रेस नेता लोकेश ढकालद्वारा केही समयअघि व्यक्त गरिएझैं पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयेन्द्रलाई राजा बनाउनेबारे आफू सकारात्मक रहेको विषयमा भने कुनै टिप्पणी गरेका थिएनन्। उनले राजसंस्था पक्षधर गतिविधिहरू गम्भीर रूपमा अघि बढिरहेको संकेत गरेका थिए।
बैठकमा चर्चामा आएको अर्को मुद्दा भिजिट भिसा प्रकरणसम्बन्धी थियो। यस सन्दर्भमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागबारे पुनः छलफल हुँदा पार्टीले अहिलेका लागि राजीनामा आवश्यक नरहेको निष्कर्ष दोहोर्याएको थियो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको घेराभित्रै रही मुलुक अघि बढ्नुपर्नेमा जोड दिँदै ‘संविधानको घेरा च्यात्ने प्रयास भइरहेका छन्, त्यसो हुन दिइने छैन,’ भनेका छन्।
#गणतन्त्र# पक्षधर