विराटनगर — मधेस प्रदेश सरकारसँगको ठेक्कामा संलग्न रमण कन्स्ट्रक्सन प्रालिका सञ्चालक पवन महतो ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका छन्।महतोलाई काठमाडौँ–७ सिफलचौरबाट पक्राउ गरिएको हो। जनकपुरधाम उपमहानगरपालिका–१४ घर भइ काठमाडौँ बस्दै आएका उनलाई मंगलबार पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँले धनुषा पठाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले पवन महतोको पक्राउ पुष्टि गरेको छ । ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा जिल्ला अदालत धनुषाले जेठ ६ मा महतोविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

पवन महतोका बुवा बलराम महतो र उनका दाजु रमण महतोविरुद्ध समेत पक्राउ पुर्जी जारी गरिएको भए पनि उनीहरू हाल फरार छन्।

ठगीको उजुरी सन्दर्भमा रमण कन्स्ट्रक्सन र इन्फ्रास्ट्रक्चर एस एन्ड बी प्रालिले संयुक्त रूपमा मधेस प्रदेश सरकारले जिम्मा दिएको ‘दिगहवा–लोखरम सडक’ निर्माणको ठेक्का लिएका थिए। सम्झौताअनुसार एस एन्ड बी प्रालिका सञ्चालक सन्तोकुमार यादवले ९ करोड २१ लाख र ८ करोड ९७ लाख रुपैयाँ बराबरका दुईवटा बैंक ग्यारेन्टी दिएका थिए। त्यस्तै १ करोड ३४ लाख र १ करोड ३३ लाख रुपैयाँ बराबरका एडभान्स पेमेन्ट ग्यारेन्टीसमेत राखिएको थियो।

यादवका अनुसार ठेक्का कार्य सञ्चालनकै क्रममा रमण कन्स्ट्रक्सनले आफ्नो पक्षमा फाइदा पुर्‍याउने उद्देश्यले एस एन्ड बीलाई जानकारी नदिइ चाबहिलस्थित एक बैंक शाखाबाट ग्यारेन्टी रकम निकालेर आफ्नो खातामा तानेको थियो। उक्त प्रक्रिया रमण महतोको हस्ताक्षरमार्फत भएको आरोप छ।

प्रहरीका अनुसार ठगी तथा विश्वासघातसम्बन्धी उक्त घटनामा अनुसन्धानका लागि पवन महतो पक्राउ परेका हुन्। काठमाडौँ प्रहरी परिसरका प्रमुख एसपी अपिलराज बोहराले महतो मंगलबार पक्राउ परेर धनुषा पठाइएको जानकारी दिए। ‘अनुसन्धान धनुषा प्रहरीले गरिरहेको छ, त्यसैले थप विवरण त्यहींबाट आउँछ,’ उनले भने।

रमण कन्स्ट्रक्सन काठमाडौँको धरहरा पुनर्निर्माणको ठेक्कासमेत लिएको कम्पनी हो। पछिल्लो समय यो कम्पनी विभिन्न विवादमा पर्दै आएको छ।

#पवन #महतो