विराटनगर — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १२ देशका नागरिकहरूलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका छन्। प्रतिबन्ध लगाइएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन समावेश छन्।

ट्रम्प प्रशासनले ती देशका नागरिकहरूले अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम पुर्‍याउने भन्दै उनीहरूको प्रवेशमा रोक लगाएको जनाएको छ। ह्वाइट हाउसकी प्रवक्ता एबिगेल ज्याक्सनका अनुसार यी मुलुकका केही विदेशीहरूले अमेरिकी जनतालाई क्षति गर्न सक्ने भएकाले राष्ट्रपति ट्रम्पले आफ्ना नागरिकहरूलाई सुरक्षित राख्न यो निर्णय लिएका हुन्। यो घोषणा ९ जुन, सोमबारदेखि कार्यान्वयन हुनेछ ।

यो निर्णय ट्रम्पको सन् २०१७ मा पहिलो कार्यकालको प्रारम्भमा लिएको चर्चित आदेशको पुनरावृत्ति पनि मानिएको छ। त्यतिबेला उनले सात मुस्लिम बहुल देशहरूका नागरिकलाई अमेरिका यात्रा प्रतिबन्ध लगाएका थिए, जसले व्यापक विरोध र कानुनी चुनौती पनि खेप्नु परेको थियो।

ट्रम्पको पछिल्लो कदमले पुनः आप्रवासन नीतिको कठोरता र अमेरिकी सुरक्षा प्राथमिकतामा केन्द्रित उनको राजनीतिक एजेन्डालाई झल्काउँछ।
 

#अमेरिका# यात्रा #गर्न #प्रतिबन्ध