विराटनगर– जेन्जी आन्दोलनपछि धर्मराएको नेपाली कांग्रेस अहिले फेरि उठ्ने प्रयासमा देखिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागिताका लागि निर्वाचन आयोगमा दल दर्तामा ढिलाई, त्यसपछि करिब डेढ महिना लामो आन्तरिक विवाद—यी सबैले कांग्रेसलाई अत्यन्तै कमजोर बनाएको थियो । तर निर्वाचन आयोगमा दल दर्ता र नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै पार्टीभित्र नयाँ ऊर्जा देखिन थालेको छ ।

महाधिवेशन कार्यतालिका अनुसार क्रियाशील सदस्यता नवीकरणलगायतका प्रक्रिया सुरु भएपछि कांग्रेस संगठन फेरि चलायमान बनेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि देशभरका निर्वाचन क्षेत्रबाट धमाधम सिफारिसहरू भइरहेका छन् । जेन्जी आन्दोलनले धारासायी बनेको कांग्रेस बल्ल उठ्न खोज्दैछ । पार्टीभित्र अहिले एउटा गहिरो बहस चलिरहेको छ— “जेन्जी आन्दोलनको भावना अनुसार, महाधिवेशनमार्फत युवा नेतृत्व चयन गरेर कांग्रेसलाई रूपान्तरण गर्नुपर्छ ।”

तर व्यवहारमा हेर्दा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यका लागि सिफारिस भइरहेका धेरै नामहरूले कांग्रेस अझै पनि परम्परागत सोचमै अड्किएको संकेत गर्छन् । पुराना अनुहार, स्थापित नेताहरू—यिनै नामहरू दोहोरिइरहेका छन् । यद्यपि सबै क्षेत्रको अवस्था एउटै छैन । कतिपय जिल्लाहरूमा उर्जावान, योग्य र नयाँ पुस्ताका युवाहरूको नाम पनि उम्मेदवारका रूपमा सिफारिस भएको छ ।

तर प्रश्न उही हो— के ती युवा अनुहारहरू निर्णायक तहसम्म पुग्नेछन् ?
के कांग्रेसले साँच्चै जेन्जी युवाहरूको भावना सम्बोधन गर्न सक्ला ?
आजको भिडियोमा हामी यही विषयमा केन्द्रित हुँदैछौँ—
कांग्रेसले कस्ता उम्मेदवारहरू सिफारिस गरिरहेको छ ?
कुन–कुन अनुहारहरू अगाडि सारिँदैछन् ? र के ती अनुहारहरूले जेन्जी आन्दोलनको मर्म बोक्न सक्छन् ?

जेन्जी आन्दोलनपछि निस्तेज बनेको नेपालकै सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी—नेपाली कांग्रेस—यतिबेला गाउँदेखि केन्द्रसम्म फेरि गतिशील बनेको छ । गाउँ, क्षेत्र र जिल्लास्तरमा भइरहेका बैठक तथा छलफलले अहिले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रिया तीव्र बनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार सिफारिस भइरहँदा कतिपय जिल्लामा विवादसमेत देखिएको छ । यसले कांग्रेसभित्र चुनावी सरगर्मी मात्र बढाएको छैन, नेता र कार्यकर्ताबीच प्रतिस्पर्धा पनि चर्काएको छ । जेन्जी आन्दोलनको भावना विपरीत पुरानै र स्थापित नेताहरूको नाम दोहोरिँदै सिफारिस भइरहेको विषयलाई लिएर कतिपय स्थानमा नेता, कार्यकर्ता र समर्थकबीच आक्रोशसमेत देखिन्छ ।

तर यी विवाद र पुराना अनुहारको भीडबीच पनि केही आशकाका संकेत देखिएका छन् । कतिपय जिल्लाहरूमा उर्जावान, योग्य र नयाँ पुस्ताका युवाहरूको नाम पनि उम्मेदवारका रूपमा सिफारिस गरिएको छ, जसले युवापुस्तामा उत्साह थपेको छ । यस्तै नामहरुमध्ये एक हुन्—इलाम क्षेत्र नम्बर १ बाट सिफारिस भएका ३५ वर्षीय निस्कल राई । व्यवस्थापन संकायमा स्नातकोत्तर पूरा गरी अर्थशास्त्रमा एमफिल अध्ययनरत राई हाल इलाम क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का सभापति हुन् ।
प्रदेश सचिव हुँदै सभापतिसम्मको जिम्मेवारी सम्हालेका उनी पूर्वक्षेत्रीय सहसचिवसमेत भइसकेका छन् ।

शंकरदेव क्याम्पस, काठमाडौंमा लामो समय अध्यापन गरेका राई विद्यालय जीवनदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका हुन् । स्कूल–क्याम्पस इकाइ हुँदै नेपाल विद्यार्थी संघमा बिभिन्न संगठनात्मक जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका उनी अध्ययन, अनुसन्धान, समाज सेवा, प्रशिक्षण, शैक्षिक तथा वित्तीय संस्थाको अनुगमन र मूल्यांकनसँगै निरन्तर राजनीतिमा सक्रिय छन् । यही निरन्तरताको परिणामस्वरूप, ३५ वर्षको उमेरमै उनी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रूपमा सिफारिस भएका हुन् ।

जेन्जी आन्दोलनपछि देश र पार्टीले खोजिरहेको— कुशल, योग्य, क्रियाशील, जुझारु र इमानदार युवा नेतृत्वको आवश्यकता पूर्वी पहाडबाट पूरा गर्ने दौडमा निस्कल राई अघि बढिरहेका देखिन्छन् । जेन्जी आन्दोलनपछि पुरानो पुस्ताको नेतृत्व परिवर्तन र युवा नेतृत्वको माग चर्किँदै गएको सन्दर्भमा, राई इलाम क्षेत्र १ का लागि उपयुक्त उम्मेदवार भएको चर्चा पार्टीभित्र मात्र होइन, अन्तरपार्टी वृत्त र समुदायस्तरमा समेत सुरु भएको छ ।

स्थानीय बुद्धिजीवीहरू भन्छन्— यदि पार्टीले उनलाई अवसर प्रदान ग¥यो भने, पूर्वी पहाडबाटै कांग्रेसभित्र परिवर्तनको अभियान सुरु हुने सम्भावना बलियो छ ।

अहिलेसम्म कोशी र मधेस प्रदेशमा निस्कल राईजस्तै स्पष्ट राजनीतिक प्रोफाइल, कुशल नेतृत्व क्षमता र इमानदार छविका युवाको नाम सिफारिस भएको पहिलो हो । यसले इलाममा मात्र होइन, उनको पक्षमा अन्य प्रदेशहरूबाट पनि समर्थनका स्वरहरू क्रमशः चर्किँदै गएका छन् ।

अध्ययन र अनुसन्धानका क्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा–सम्मेलनमा सहभागी हुँदै, यति कम उमेरमै निस्कल राईले दक्षिण कोरिया, हंगेरी, भारतलगायतका देशहरूको भ्रमण तथा अवलोकनको अनुभव हासिल गरेका छन् । यसले उनलाई केवल स्थानीय राजनीतिमा मात्र होइन, अन्तर्राष्ट्रिय अभ्यास र अनुभव बुझ्ने युवा नेताका रूपमा पनि चिनाएको छ ।

यससँगै उनले कोशी प्रदेश सरकारको ‘हामी स्वयंसेवक’ कार्यक्रमका कार्यक्रम संयोजकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन् । सार्वजनिक सहभागिता, युवा परिचालन र सामाजिक सेवामा आधारित उक्त कार्यक्रमको कार्यान्वयनमा उनले देखाएको नेतृत्व क्षमताले उनको व्यवस्थापन र समन्वय कौशललाई थप स्थापित गरेको देखिन्छ ।

राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि उनी सक्रिय छन् । नेपाल रेडक्रस सोसाइटी, जागृति ग्रामीण विकास मञ्च नेपाललगायत विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध रहँदै उनले विपद् व्यवस्थापन, सामाजिक सचेतना र सामुदायिक विकासका क्षेत्रमा योगदान दिँदै आएका छन् । यही शैक्षिक पृष्ठभूमि, अन्तर्राष्ट्रिय अनुभव, सामाजिक संलग्नता र निरन्तर राजनीतिक सक्रियताले निस्कल राईलाई जेन्जी आन्दोलनपछि पार्टी र देशले खोजिरहेको जिम्मेवार, सक्षम र भरोसायोग्य युवा नेतृत्व को रूपमा प्रस्तुत गरेको छ ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा अन्तिम पटक चुनावी प्रतिस्पर्धामा उत्रने तयारीसहित डडेलधुराबाट पुनः एकल उम्मेदवारका रूपमा सिफारिस भएका छन् । यस्तै, कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाको नाम मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि एकल रूपमा सिफारिस गरिएको छ । कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नाम सुर्खेत क्षेत्र नम्बर १ बाट सर्वसम्मत रूपमा सिफारिस भएको हो । अघिल्लो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग आन्तरिक साँठगाँठ गरेर सांसद निर्वाचित भएको आरोप खेप्दै आएका महामन्त्री गगन थापाको नाम भने डोल्पादेखि धनकुटासम्म विभिन्न जिल्लाबाट सिफारिस गरिएको छ ।