विराटनगर — आज जुन ५, विश्व वातावरण दिवस । ‘प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व’ भन्ने नारासहित यो दिवस नेपालसहित विभिन्न मुलुकमा विविध कार्यक्रममार्फत मनाइँदैछ। यस वर्ष विशेष कार्यक्रम दक्षिण कोरियामा आयोजना गरिने संयुक्त राष्ट्रसंघले जनाएको छ।

संयुक्त राष्ट्रसंघको पहलमा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ मा वातावरण दिवस मनाउने परम्परा सुरु गरिएको हो। दिवसको उद्देश्य वातावरण संरक्षणप्रति जनचेतना फैलाउनु र दिगो भविष्यतर्फ समाजलाई उन्मुख गराउनु हो।

राष्ट्रसंघका अनुसार हाल पृथ्वीमा हरेक वर्ष झण्डै ४० करोड टन प्लास्टिकजन्य फोहर उत्पादन भइरहेको छ। तर त्यसको केवल १० प्रतिशत मात्र पुनः प्रयोगमा ल्याइन्छ। बाँकीमध्ये करिब १ करोड १० लाख टन प्लास्टिक फोहर नदी, ताल र महासागरमा विसर्जन गरिन्छ, जसले समुद्री जीवन र पारिस्थितिक प्रणालीमा गम्भीर असर पारिरहेको छ।

आजको दिन अर्को महत्वपूर्ण सन्दर्भमा पनि जोडिएको छ — गैरकानुनी रूपमा माछा मार्ने विरुद्धको संघर्ष दिवस। खाद्य तथा कृषि संगठन (एफएओ)को पहलमा सन् २०१७ देखि हरेक वर्ष जुन ५ मा यो दिवस मनाउन थालिएको हो।

एफएओका अनुसार दिगो विकासका लक्ष्य हासिल गर्न गैरकानुनी, अनियमित तथा अनियन्त्रित माछा मार्ने प्रवृत्ति अन्त्य गर्नु अत्यावश्यक छ। हरेक वर्ष १ करोड १० लाख देखि २ करोड ६० लाख टनसम्म माछा यसरी अवैध रूपमा मारिँदा अर्बौं डलरको आर्थिक नोक्सानी हुँदै आएको संगठनको तथ्यांक छ।
 

#प्रदूषण#माछामारी