नेपालको पत्रकारिता अहिले ‘बनियागिरी सञ्चार व्यवस्था’ मा बदलिएको छ। जसले पैसा ल्याउँछ, ऊ नीति बनाउँछ। सम्पादक, रिपोर्टर, विश्लेषक—सबै जागिरे हुन्। उनीहरूको पेसागत अस्तित्व साहुको इच्छामा निर्भर छ।केही अपवाद बाहेक नेपाली सञ्चार माध्यम भनेको बौद्धिक बदमासहरुको पद र पैसाका लागि दलाली गर्ने सिन्डिकेट हो । दैनिक विज्ञापन गन्ती गरेर बस्ने साहुले रिपोर्टरले गरेका जोखिमपूर्ण समाचारमा चासो राख्दैन। उसलाई के सरोकार छ भने—आज कति पैसा आयो? कुन कम्पनीलाई चित्त बुझेन? कुन एजेन्डा अगाडि बढाउने?
विराटनगर– नेपालमा सञ्चार माध्यम सञ्चालन गर्नु विशुद्ध व्यवसाय हो, त्यो पनि यस्तो व्यवसाय, जसको आन्तरिक संरचना अपारदर्शी र बाह्य छवि जनताको पक्षमा बोल्ने स्वघोषित महान् धर्मगाथाजस्तो देखिन्छ। मानौं सञ्चारगृहका साहु, सम्पादक र प्रधान सम्पादकहरु महाप्रभु श्रीकृष्णका साँचो भक्त हुन् ।
तर सामाजिक सञ्जालका कारण बढ्दो मिडिया साक्षरताले नागरिकको सामु मूलधारकै सञ्चार माध्यमको वास्तविकता लुकेको छैन । स्वार्थ प्रेरित प्रकाशित र प्रसारित समाचारको दिनहुँ जस्तो फेसबुकदेखि ट्वीटर सम्म चिरफार भइरहेको हुन्छ । यति सब भइसक्दा कुनै पनि स्वाभिमानी पत्रकारले सम्पादक र प्रधान सम्पादकको कुर्सीमा बसिरहन मिल्दैन तर लाज पचाइसकेकाहरुको के कुरा गर्नु ?
अब ती सञ्चार माध्यम पनि केवल केही स्वार्थ समूह, आफूलाई कुलीन (एलिट), बौद्धिक र विशेष वर्ग (स्पेसल क्लास) ठान्नेहरु माझ लोकप्रिय छन् । अर्थात सञ्चार माध्यम चाहिँ अब आममान्छेबाट खास वर्गमा खुम्चिएको छ । हालै एक सञ्चार गृहका प्रधान सम्पादकले समाचार कक्षमै जन्मदिनको केक काटेको दृश्यले नागरिकलाई गिज्याइरहेको महसुस भयो ।
सम्भवतः मुलुकमा नेपाली नागरिकलाई झुक्याउने यो जस्तो अर्को कुनै पेसा छैन । यथार्थमा सञ्चारकर्मीहरुद्वारा रित पुर्याएर गरिने गतिविधिले सहकारी ठगीलाई पनि उछिनेको छ । स्वयं बेतिथिको खाडलमा खसेका सरकारले सार्वजनिक हूलहुज्जतका कारण पत्रकारहरुलाई प्रचलित ऐनहरुअनुररुप कारबाही गर्ने आँट गर्न नसक्दा उनीहरुमा उन्माद बढेको छ ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार र दाताहरुको आर्थिक, प्राविधिक र सम्पादकीय सहयोगमा सञ्चालित खोज पत्रकारिता केन्द्र (सीआईजे–नेपाल)ले पनि यता तिर खोतल्ने साहस गर्न सक्दैन । किनकी नेपालका मुख्यधारका सम्पादक, प्रकाशक र सञ्चारमाध्यमभित्रको बेतिथिको बारेमा खोजी गर्दा उनीहरुबाट प्राविधिक–सामग्री साझेदारीको दिशामा सहयोग प्राप्त हुँदैन ।
यस पछि उक्त केन्द्रबाट उत्पादित सामग्रीहरुलाई प्रकाशन/प्रसारण गर्ने ठाउँ नभए पछि पहुँच र प्रभाव समाप्त हुन्छ । यो र यस्तै अन्य मुद्दामा स्थानीय मिडिया घराना र विस्तृत अन्तर्राष्ट्रिय नेटवर्कका दाताहरुको निहित स्वार्थ विपरित खोप केन्द्रले पनि केही गर्न सक्दैन ।
मिडिया सिन्डिकेटमा रहेका केही पत्रकारहरुको आरामदायक जागिर खाने थलो खोप केन्द्रदेखि हामीमध्ये अधिकांश पत्रकार निष्ठापूर्वक र गुणस्तरीय खोज पत्रकारिता अगाडि बढाउन सक्ने स्थितिमा छैनौं, हामी व्यावसायिक पत्रकारिताको आडमा र सही सूचना प्रवाहको नाममा नागरिकलाई ठग्दै छौँ ।
नेपालको सञ्चार माध्यमको भित्रपट्टि गन्ध छ—अवैध पुँजी, डर, धम्की, छल, कपट, धोका र लेनदेनको। केही अपवाद बाहेक नेपाली सञ्चार माध्यम भनेको बौद्धिक बदमासहरुको पद र पैसाका लागि दलाली गर्ने सिन्डिकेट बन्न पुगेको छ ।
बढ्दो मिडिया साक्षरतासँगै जनजनले यो वास्तविकता थाहा पाउँदै गइरहेका छन् जसले गर्दा नागरिक माझ नेपाली समाचार माध्यमको प्रभाव घट्दो छ । समाचार माध्यमले तय गरेको एजेन्डामा नागरिकले भरोसा गर्न छाडेको छ । मिसन पत्रकारिताको म्याद गुज्रिइसकेको छ । आउँदा दिनहरुमा छिमेकी भारतको गोदी मिडिया जस्तै नेपालका सञ्चारमाध्यमको चुनावी सर्वेक्षण, अध्ययन, शोध, अनुसन्धान र अभिमतको विपरित परिणामहरु आउँदै जानेछन् । सञ्चार माध्यमका साहुहरु यो तथ्य बारे अवगत छन् तर सार्वजनिक रुपले स्वीकार्ने आँट गर्न सक्दैनन् ।
मिडिया साक्षरता भनेको नागरिकले सञ्चारमाध्यम (जस्तै–टेलिभिजन, रेडियो, पत्रपत्रिका, अनलाइन, सामाजिक सञ्जाल आदि) बाट प्रवाह हुने सामग्रीलाई बुझ्ने, विश्लेषण गर्ने, मूल्यांकन गर्ने र आवश्यक परेमा स्वयं सन्देश सिर्जना गर्न सक्ने क्षमता हो । यसले नागरिकलाई सजग, जिम्मेबार र सचेत बनाइरहेको छ । कुनै समाचार निर्माण पछाडि लुकेको स्वार्थलाई आममान्छेले केलाउन थालेका छन् ।
तीन तहकै सरकार, राजनीतिक पार्टीका नेता–कार्यकर्ता, उद्योगी व्यवसायी, बैंक, सहकारी, बिमा कम्पनी, अस्पताल, दूतावास, राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ–आईएनजीओ) लगायत सबै समाचारले बजारमा गर्ने चरित्रहत्याको आतंकबाट पीडित छन्। यसबाट निजात पाउन उनीहरुले चोखिने बाटो अपनाउँदै विभिन्न कार्यक्रम र प्रचारात्मक सामग्री निर्माणका लागि बजेट छुट्टयाएर समाचार माध्यममा छर्छन् ।
किनकी अपुष्ट समाचार प्रकाशन/प्रसारण गरेर चरित्र हत्या गरे पनि कानुनी दाउपेचको प्रयोग र विरोध प्रदर्शनबाट सञ्चारकर्मीहरु उम्किहाल्छन् । यो देश बाहेक सर्वत्र चरित्र हत्यालाई अक्षम्य अपराध मानिन्छ र आम नागरिकको हकमा लागू प्रचलित ऐन सबैका लागि बराबरी लागू हुन्छ । प्रेस काउन्सिल र राज्य संयन्त्रले आफूहरुलाई रत्तिभर छुन सक्दैनन् भन्ने विश्वासले पत्रकारिताको नाममा अराजकता मौलाएको दिनहुँ जस्तो भिडियो सार्वजनिक भइरहेकै छन् । फेरि यस्ता भिडियो फूटेजको तीनै पत्रकारहरुले पनि बढी सेयर गर्छन्, जो पत्रकारिताको आडमा राजनीतिक पार्टीका नेता हुन्छन् ।
अनियमितताको गन्ध तुरुन्तै थाहा पाउने सञ्चार माध्यमले खबर लेखेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चपेटामा परिने, घरपरिवार र समाजको नजरमा गिर्ने अत्यासले आर्थिक गतिविधि हुने सरकारी र गैरसरकारी संयन्त्रमा संलग्नहरूसँग सम्झौतावादी बन्नुको विकल्प हुन्न। नखाइ र नखुवाइ हुन्न भन्ने मान्यता सरकारी र गैरसरकारी क्षेत्रमा स्थापित भइसकेको छ ।
विज्ञापन सञ्चारको खुला आयस्रोत हो भनेर भनिन्छ, तर वास्तविकता हेर्दा यो विज्ञापन ‘कमाइ’ भन्दा बढी ‘हतियार’ भएको छ। ब्रान्डलाई बदनाम गरिन्छ भन्ने त्रास देखाएर वा कुनै खोट खोजिएको खबर छापेर वा छापिने भय देखाएर सञ्चारगृहका साहुका मार्केटिङ टिमले ठूला व्यापारी, उद्योगपति र संस्थालाई विज्ञापनरूपी सम्झौताको नाममा ‘दबाबपत्र’ बुझाउँछन्। यसरी गरिने ‘डरमार्फतको मार्केटिङ’ अब पत्रकारिता नभइ एक प्रकारको संरक्षित फिरौती संकलनको रूप लिइसकेको छ।
यति मात्रै होइन, विदेशी दूतावास, एनजीओ–आईएनजीओहरूसँग वर्षैपिच्छे ‘सकारात्मक मात्र सामग्री प्रकाशन र सूचनाको आदानप्रदान’ गर्ने शर्तसहित भएका आर्थिक सम्झौताले मिडियाका मूल उद्देश्य र मूल्य समाप्त पारिदिएका छन्। विदेशी दृष्टिकोणअनुकूल ढंगले एजेन्डा निर्माण गर्दै विज्ञापनको ओसारपसार गरिनु अब नेपाली सञ्चार माध्यमको छोटो समयमा धेरै धन जोड्ने नयाँ रणनीति हो जसले उसलाई बेहाल बनाउँदै नागरिकको नजरमा नीकै गिराएको छ ।
नेपाली सञ्चार माध्यमले नागरिकलाई बुझेकै छैन । अनि मुलधारका सञ्चारमाध्यमका हर्ताकर्ता, आम सञ्चार सम्बद्ध तालिम प्रदायक संस्था र आफूलाई पत्रकारिताको गुरु र प्रशिक्षक दाबी गर्नेहरुले सामाजिक सञ्चाजलमा पोखिएका आक्रोश र मौलिक विचारलाई अराजकरुको भिड भन्दै स्वयंतिर उठेको सवालबाट पन्छिन खोज्छ । अहिले भइरहेका अधिकांश तालिमहरुले सञ्चारकर्मीलाई दक्ष र आत्मनिर्भर बन्ने प्रेरणा दिनुको साटो राजनीति पार्टीको दास बनाइरहेको छ । प्रशिक्षक र प्रशिक्षार्थीको भाषा र शैलीबाट पनि के सिकाइरहेको र के सिकिरहेका छन् भन्ने भनिरहनु परेन ।
सम्पादक कि कर्मचारी?
कसैले समाचार सम्पादन गर्छ भने उसलाई सम्पादक भनिन्छ। तर नेपालमा सम्पादक भनेको साहुले पालेको एकजना जागिरे कर्मचारी मात्र हो, जसको टेबलमुनि कहिल्यै नदेखिने साहुको जुत्ता हुन्छ। प्राविधिक रूपमा जसको नाम सम्पादक र प्रधान सम्पादक भनेर छापिन्छ, व्यवहारतः त्यो पदमा साहु स्वयं बसेका हुन्छन्—प्रत्यक्ष वा परोक्ष रूपले।
मूलधारका धेरै अनलाइन वा छापा माध्यममा सम्पादकीय स्वतन्त्रता छैन, किनभने सम्पादक आफै लगानीकर्ता भएका छन्। के समाचार लेख्ने? कसको लेख्ने? कहिले लेख्ने? यो सम्पादकले होइन, अब विज्ञापन दिनेहरुको मिजाजअनुसार तय हुन्छ। राम्रो कमाइ भएका व्यापारिक संस्थाहरूसँग सम्बन्ध बिग्रिएमा विज्ञापन प्राप्त नहुने मनोविज्ञानले प्रेस स्वतन्त्र रहेन। विभिन्न बैंक, कम्पनी, ईसेवा, एनसेल वा नेपाल टेलिकमका बेतिथि, दादागिरी र बदमासीबारे कतिपय समाचार माध्यमले खबर नलेख्नुको कारण मालदार विज्ञापन गुम्ने झसक वा त्रास हो ।
सम्पादकको कलम वा कम्प्युटरका कीबोर्डका अक्षरहरु अब विचार, तथ्य वा जनताको पक्षमा चल्दैन। त्यो कलम साहु वा स्वयंको फाइदाको हिसाब–किताब लेख्ने साधन बनेको छ। यही कारण सम्पादकको प्रमुख चिन्ता अब पाठक होइनन्—स्वहित, विज्ञापनदाता र प्रायोजक भएका छन्।
साहुका आँखाले हेर्ने मिडिया
आज धेरै मिडिया हाउसमा साहु सम्पादक पनि छन् र लगानीकर्ता पनि। यो चाहिँ अगाडि देखिएको चित्र हो। तर ती लगानीकर्ता सम्पादक, प्रधान सम्पादकका पछिको शक्तिको खोजी हुन बाँकी छ। त्यसैले अब नीति, पत्रकारिता धर्म र आचारसंहिता—यी सबै अलंकार वा हात्तीका देखाउने दाँतजस्ता देखावटी मात्रै हुन्। राजनीतिक एवं आर्थिक पहुच नभएका सञ्चारकर्मीहरुलाई मात्र यो लागु हुन्छ ।
साहुलाई चाहेको नाम, फोटो वा संगठनको प्रचार गर्ने छुट छ । यसलाई कसैले रोक्न सक्दैन। मूलधारका सञ्चारमाध्यमको खबरहरुमा वर्षौंदेखि उही व्यक्तिलाई नायकको रुपमा प्रस्तुत गर्नु, नाफामूलक स्वास्थ्य संस्थाका हर्ताकर्तालाई पत्रिकाको कभर पृष्ठमा स्थान दिनु, विचार लेख (ओपेड आर्टिकल) र साप्ताहिक संस्करणमा केही तय लेखकलाई प्राथमिकतामा राखिनु स्वार्थ प्रेरित मिडिया सिन्डिकेट हो ।
केही मिडिया त यस्ता छन्, जहाँ एकल व्यक्तिको स्वविवेकमा वेबसाइट सञ्चालन भइरहेको छ। ऊ सम्पादक पनि हो, रिपोर्टर पनि, प्रकाशक पनि र विज्ञापन व्यवस्थापक पनि। पत्रकारिता यस्तो स्थितिमा पुगेको छ, जहाँ न कसैको जिम्मेवारी प्रष्ट छ, न कसैको उत्तरदायित्व। एउटै व्यक्ति न्यूज रिपोर्ट पनि लेख्छ, प्रायोजकसँग सम्झौता पनि गर्छ र कहिलेकाहीँ कानुनी बाना बनाएर आलोचकको मुख थुनछेक पनि गर्छ।
अज्ञात स्रोतको बहस कार्यक्रम
आज सञ्चार गृहहरुले बहस कार्यक्रमको नाममा विभिन्न व्यापारिक प्रतिष्ठान र संस्थाबाट ठूलै रकम उठाउँछन्। तर ती रकम कति छन्, कहाँबाट आएका हुन्, कसरी खर्च हुन्छन्—यसबारे न कोही जवाफ दिन्छ, न सोध्ने वातावरण बनाइएको छ। भ्रष्टाचार र अनियमितताको माकुरो जालोमा फसेर नेपाल सरकार र राज्य संयन्त्र स्वयं निरीह भइसकेकाले सञ्चार गृहलाई प्रश्न गर्ने नैतिक बल उसँग बिलकुलै छैन । सरकार र सञ्चार माध्यमले प्रश्न गर्नेलाई शत्रु वा विरोधी भन्दै नभएको मुद्दा खडा गरिहाल्छ ।
दैनिक विज्ञापन गन्ती गरेर बस्ने साहुले रिपोर्टरले गरेका जोखिमपूर्ण समाचारमा चासो राख्दैन। उसलाई के सरोकार छ भने—आज कति पैसा आयो? कुन कम्पनीलाई चित्त बुझेन? कुन एजेन्डा अगाडि बढाउने?
साहु सञ्चालित पत्रकारिता
नेपालको पत्रकारिता अहिले ‘बनियागिरी सञ्चार व्यवस्था’ मा बदलिएको छ। जसले पैसा ल्याउँछ, ऊ नीति बनाउँछ। सम्पादक, रिपोर्टर, विश्लेषक—सबै जागिरे हुन्। उनीहरूको पेसागत अस्तित्व साहुको इच्छामा निर्भर छ।
जब सम्पादकीय स्वतन्त्रता साहुको स्वार्थमा समर्पित हुन्छ, तब त्यो पत्रकारिता होइन—त्यो पुँजी विस्तारको प्रचार यन्त्र हो।
पत्रकारिता जोगाउन सम्पादकको विवेकभन्दा माथि उठेर अब पाठकको विवेक जाग्न जरुरी छ। किनभने पत्रकारिताको मूल्य तबसम्म बाँच्छ, जबसम्म पाठक सचेत हुन्छ। यो दिशामा नेपाली पाठकको बौद्धिकताको स्तर धेरै माथि उठिसकेको छ । अहिले टोल, गाउँ, नगर र महानगरबासीले आफ्ना कुरा भन्न, लेखन, स्थानीय समस्या र समाधान प्रकट गर्न फेसबुक, रिल, स्टोरी, टिकटक, थ्रेड्स, ह्वाट्सएप र इन्ष्टाग्रामको भरपुर प्रयोग गरिरहेका छन् ।
पत्रकारिताको ठिक विपरित सामाजिक सञ्जालमा अधिकांश प्रयोगकर्ता विवेकशील र संवेदनशील छन् । एकल/दुकल सञ्चारमाध्यम र औलामा गन्न सकिने केही सञ्चारकर्मी बाहेक धेरै जसो बनियागिरी पत्रकारिता गरिरहेका छन् । उनीहरुका अनलाइन न्यूज पोर्टल र पत्रिकामा प्रकाशित सामग्रीसँगै विज्ञापन हेर्दा धेरथोक प्रष्ट हुन्छ ।
त्यसैले अहिले सामाजिक सञ्जाल र युट्युब चाहिँ मुलधारको सञ्चारमाध्यमको खबर, लेख र विचारभन्दा बढी लोकप्रिय भइरहेका छन् । तुरुन्तै हजारौँ माझ पुगिरहेका छन् । परम्परागत नेपाली सञ्चारमाध्यमले नागरिकलाई आफ्नो सामग्री पढाउन, लादन वा बोकाउन लाखौँ खर्चेर तिनै सामाजिक सञ्जालको मञ्च प्रयोग गरिरहेको छ । राष्ट्रिय स्तरका भनाउँदा नेपाली सञ्चार माध्यम आर्थिक संकटमा पर्ने मुख्य कारण चाहिँ जनविश्वासको अभावले समाचारको बजारमा खुम्चिनु हो, कोभिड–१९ वा आर्थिक मन्दी जस्ता अस्थायी समस्याका कारणले बिलकुलै होइन ।
सामाजिक सञ्जालका सामग्रीहरुमा दिनहुँ देखिने करोडौँको विज्ञापनले नेपालको परम्परागत सञ्चार माध्यमको गिर्दो साखको प्रमाण हो । हाल उपलब्ध पत्रपत्रिका, रेडियो, टिभी, अनलाइन र समाचार एजेन्सीहरु अबका केही सीमीत वर्षहरुमा मात्र देखिने छ । त्यसपछि आम नागरिकका आफ्नै मिडिया प्लेटफर्मको दह्रो उदय भइसकेको हुनेछ । आम सञ्चार र पत्रकारिताको क्षेत्र कुनै व्यक्ति विशेष वा मिडिया उद्योग सञ्चालन गर्ने व्याापरिक घरानाको आधिपत्य समाप्त हुनेछ ।
किनकी नेपालको परम्परागत पत्रकारितामा नैतिकताको निधन भइसकेको छ । सबैलाई सवाल गर्ने पत्रकारिता पेसाको बारेमा प्रश्न उठाउनेलाई विरोधीको रुपमा हेरिने हुनाले यो विषयमा असल पत्रकारहरुले बोल्न चाँहदैनन्, बरु पत्रकारिताबाट पलायन भएर जीविकोपार्जनका लागि अन्य काममा लागि मौन बस्न वा ओझेलको जीवन व्यतित गर्न मन पराउँछन् । दलीय भागवन्डामा गठन हुने पत्रकार महासंघसँग सच्चा र स्वतन्त्र पत्रकारहरुको रत्तिभर सम्बन्ध हुँदैन ।
यो लेखलाई प्रेस र अभिव्यक्ति स्वतन्त्रता विरुद्धको षडयन्त्र भनेर विश्लेषण गर्ने दुस्साहस नगर्नुहोला, यो मेरो तीन दशक लामो पत्रकारिता यात्राको अनुभव हो । यो देशमा स्थानीयदेखि राष्ट्रिय स्तरको दाबी गर्ने सञ्चार माध्यमहरु कसरी चल्छ भन्ने करेलो जस्तै तितो सत्य आममान्छेबाट लुकेको छैन ।
दलगत भागबण्डामा निर्वाचित एवं मनोनित हुने पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रको छाता मुनि सताधारी एवं विपक्षी दलका पत्रकारहरुको हालीमुहाली हुन्छ । उनीहरुले पालिकाहरु र प्रदेश सरकारका विभिन्न मन्त्रालयको बजेटलाई सामाजिक विज्ञापन, पुरस्कार, सम्मान, तालिम र अभिमुखीकरण कार्यक्रम लगायतको नाममा कसरी झोरेर ल्याउँछ भन्ने तथ्य कसैबाट लुकेको छैन ।
सरकारी र नीजि क्षेत्रका बजेटमा सत्ताधारी दलका कार्यकर्ता–नेतारुपी पत्रकारहरुको पहुँच हुनु त स्वभाविकै हो । विपक्षी दलका सञ्चारकर्मीहरुले मुख बन्द राखुन् भन्ने प्रयासमा सत्ताधारी दलका सञ्चारकर्मीहरुले बाँडीचुडी खाने रणनीति लिएका हुन्छन् । विभिन्न मन्त्रालयबाट सञ्चारमाध्यम र पत्रकारको नाममा निकासा भएको बजेटलाई खोतलखातल गर्यौं भने यो वास्तविकता छर्लङ हुन्छ ।
पत्रकारिता सम्बन्धि विभिन्न तालिममा सहभागी विज्ञ र तीन तहकै सरकारले पत्रकारलाई बाँड्ने पुरस्कार, पारितोषिक र सम्मान पाउनेको सूचीको अध्ययन गर्यौैं भने नेपाली पत्रकारिता दलको दलदलमा फसेर मगन्ते, झोले र चाकरी पथको उत्कर्षमा पुगेको आभाष हुन्छ ।
पत्रकारिताको यो घनचक्करमा म जस्तो केही पत्रकारलाई भने टिक्न कठिन छ । ग्रामीण पत्रकारितादेखि संघीय राजधानी काठमाडौँ सम्म समाचार कक्षको लामो अनुभवसँगै डिग्री हुँदाहुँदै पनि अब भने यो पेसालाई अगाडि बढाउने वा बाँच्नलाई क्षमताअनुरुपको अन्य कुनै सम्मानित पेसा रोज्ने भन्ने दोबाटोमा आइपुगेको छु । उबेला दुईटा राम्रो जागिरको विकल्पमा पत्रकारितालाई रोज्दा यो दिन पनि देख्नुपर्ला भन्ने कल्पना पनि गरेको थिइन् ।
आममान्छे माझ पत्रकार भनेर परिचय दिंदा पनि सोच्ने बेला आइपुगेको छ । अचेल सार्वजनिक थलोमा पत्रकार भन्न बितिकै सवाल आइहाल्छ,‘कुन दल वा कुन नेतालाई समर्थन गर्नुहुन्छ ?’स्वतन्त्र पत्रकारलाई त नागरिक समाज, विभिन्न दलका नेता–कार्यकर्ता र सरकारी संयन्त्र हाकेर बसेका बरिष्ठ कर्मचारीले पत्रकारिताको अवैध सन्तानकै रुपमा वा अचम्म मानेर हेर्छन् । हामी जस्ताले ओक्लेका तितो सत्य उनीहरुलाई बकबास लाग्छ । कोशी प्रदेश सरकारको एक सचिवले मैंले पत्रकारिता सम्बन्धि हालै लेखेको फेसबुक पोस्ट पढ्दै मुख बङ्ग्याएको तस्बिर पनि प्राप्त गरेको छु ।
दलमा नलागेका पत्रकार अब कतै पनि अटाउँदैनन् । तीन तहकै सरकारले आम सञ्चार र पत्रकारिता सम्बन्धि निकायमा नियुक्त गर्ने अनुहारहरु हेर्दा म जस्ता यो पेसामा ररिहनुको औचित्य समाप्त भइसकेको अनुभूति भएको छ । मौखिक सहानुभूति, सम्मान र प्रंशंसाले मात्र घर–व्यवहार चल्दैन ।
सामाजिक सञ्जालमा उपलब्धि प्रकट गर्न राखिएका पत्रकारिता सम्बन्धि अभिमुखीकरण र प्रशिक्षणको तस्बिरमा अनुहारहरु हेर्दा उदेक लाग्दो अवस्था छ । नेपालको परम्परागत ढाँचाको सञ्चारमाध्यमको संसारमा यो मेरो अन्तिम लेख हो । पत्रकारितालाई लुट, कीर्ते र ठगीको माध्यम नबनाउनेमा प्रतिबद्ध छु । स्वाभिमानका साथ बाँच्न शैक्षिक योग्यता र दक्षताअनुरुप मिहिनेत र समर्पणका साथ अन्य काम गर्छु ।
पूर्ण स्वतन्त्रताका साथ काम गर्ने अधिकार सहित मलाई प्रधान सम्पादकको जिम्मेबारीका लागि विश्वास गरेकोमा द नेप्लिज डट कमका सञ्चालक मञ्जुकुमारी, प्रबन्धक देवनारायण साह र अन्य केही शुभेच्छुहरुप्रति आजीवन आभारी रहनेछु । द नेप्लिजसँगको शुभारम्भदेखि यो चार महिनाको अवधिमा डिजिटल मिडियाको प्राविधिक पक्षको ‘क, ख…’ सिक्ने मौका पाएँ ।
सिकाइ र बुझाइको यो दिशामा देवनारायणजीको अमूल्य सहयोग, साथ र सदभाव रहेको छ । भित्रभित्रै जनविश्वास गुमाइसकेको दलीय र दाताको सहयोग वरिपरि घुम्ने परम्परागत चरित्रका नेपाली सञ्चार माध्यममा सक्रिय नरहे पनि पत्रकारिताबाट सन्यास भने लिन्न ।
किनकी मेरो बुबा र हजुरबुबा उमेरका जसोतसो अझै यो पेसामा सक्रिय रहेकाले म मात्र यो क्षेत्रबाट पलायन भएर कुनै उथलपुथल हुनेबाला छैन, पत्रकारिताको आडमा सिन्डिकेट चलाइरहेकाहरु विरुद्ध आवाज उठाउने पनि चाहियो नि । । आउँदो समयमा नयाँ स्वरुपमा विचार प्रधान शैलीका आफ्नै अनलाइन/ब्लग, सामाजिक सञ्जाल र डिजिटल मिडियाको अन्य नयाँ मञ्चहरु मार्फत हजुहरुसँग जानेबुझेको जानकारी आदान–प्रदान गरिरहने छु । सधैँ झैँ फरक स्वरुपमा पनि मलाई स्वीकार्नु हुने भन्ने भरोसा छ । अहिले सम्मको यात्रामा भरपुर साथका लागि आभारी छु ।
(आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर, तीन दशकभन्दा बढी समयदेखि ग्रामीण क्षेत्रदेखि काठमाडौँसम्म मूलधारको पत्रकारितामा सक्रिय ‘द नेप्लिज डट कम’ का निवर्तमान प्रधान सम्पादक जितेन्द्र साहको यो व्यक्तिगत विचार हो । साह कुनै पनि राजनीतिक दल निकट पत्रकार संघ, संगठन, मञ्च, युनियन, चौतारी वा समाज लगायतमा आबद्ध छैनन् भन्ने कुरा प्रष्ट गर्न चाहन्छौं ।)
#नेपाल# पत्रकारिता# सम्पादकीय# स्वतन्त्रता# मिडिया# सिन्डिकेट# सामाजिक# सञ्जाल# बनियागिरी #सञ्चार# विज्ञापन# ब्ल्याकमेल# पत्रकार# जितेन्द्र# साह