विराटनगर– सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले १४ औं स्थापना दिवसको अवसरमा चार जना पत्रकारलाई पुरस्कृत गरेका छन् । पत्रकारहरु सुवास  ढकाल, बन्धु पोखरेल, अनिल श्रेष्ठ र रुमा दाहाल पुरस्कृत भएका हुन् । 

अध्यक्ष दीपक दाहालका अनुसार ५१ हजार रुपैयाँ राशिको तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान नेपाल पत्रकार महासंघ मोरङका संस्थापक अध्यक्ष एवम् नेपाल खोज अनलाइनका प्रधान सम्पादक सुवास  ढकाललाई प्रदान गरिएको छ । 

यस्तै, ५० हजार रुपैयाँ राशिको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष एवम् उद्घोष दैनिकका पत्रकार बन्धु पोखरेललाई  प्रदान गरिएको हो ।  

मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार ब्लाष्ट दैनिक विराटनगरका सम्वाददाता अनिल श्रेष्ठलाई र १० हजार रुपैयाँ राशिको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार कोशी सन्देशकी डेस्क सम्पादक रुमा दाहाल (निशा)लाई प्रदान गरिएको छ । 

उच्च अदालत विराटनगरका मुख्य न्यायाधिस राजनप्रसाद भट्टराईले चारै जनालाई कदर पत्र र नगद हस्तान्तरण गरेका हुन् । पुरस्कृत पत्रकारहरुलाई मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र बरिष्ठ पत्रकार मोहन भण्डारीले दोसल्ला ओढाएर फूलमाला लगाइ सम्मान गरेका थिए ।