विराटनगर– इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १५०० औँ जन्मोत्सव अर्थात् ‘मोहम्मद जयन्ती’ शुक्रबार इस्लाम धर्मावलम्बीहरुले मनाइरहेका छन् । मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायले विराटनगरमा र्याली प्रदर्शन गर्दै उत्सवको रुपमा मनाइरहेका हुन् । मोहम्मद जयन्तीको अवसरमा विराटनगर महानगरपालिकामा सार्वजनिक विदा नगर कार्यपालिकाले दिएको छ भने नेपाल सरकारले मुस्लिम समुदायका लागि सार्वजनिक विदा दिएको हो ।
मुस्लिम समुदायले मोहम्मद जन्मोत्सवको अवसरमा र्याली प्रदर्शनपछि मस्जिदमा भेला भएर कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना आदान प्रदान गरिरहेका छन् ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संम्वतको रवि अव्वल महिनामा साउदीअरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मद जयन्तीलाई इद मिलादुनन बी र १२ रबी अव्वल पनि भन्ने गरिन्छ ।
नेपाली मुस्लिम समुदायले यस पर्वलाई ‘मोहम्मद डे’ को रुपमा पनि मनाउने गरेका मुस्लिम अगुवा तथा जनता समाजवादी पार्टीका मोरङ अध्यक्ष मोहम्मद नसरुलले बताएका छन् । मोहम्मद दिवसको दिन इस्लाम धर्मावलम्बीले खुसी व्यक्त गर्दै मोहम्मदका विभिन्न नारा घन्काएका छन् । मोहम्मद दिवसले मुस्लिम समुदायलाई एकताको सूत्रमा बाँध्नुका साथै भाइचारा सम्बन्ध कायम रहने जनविश्वास रहेको उनको भनाइ छ ।
मोहम्मद डेका अवसरमा मुस्लिम समुदायहरू गरीव तथा विपन्न, असक्त, अनाथलाई दान दिने, घर–आँगन सरसफार्इ गर्ने, घरमा इस्लामिक झण्डा फहराउने, दीप–प्रज्वलनलगायतका कार्यक्रम भइरहेको मोहम्मद नसरुलले बताएका हुन् ।