विराटनगर- कोशी प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता आइतबारदेखि विराटनगरमा शुरु भएको छ ।

विराटनगरको दुईवटा क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा मोरङ र सुनसरी विजयी भएका छन् । वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा मोरङले उदयपुरलाई १० विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको उदयपुरले निर्धारित ४३ ओभरको खेलमा ३५ दशमलव २ बलमा सबै विकेट गुमाई ७६ रनको सामान्य रनमा सिमित भएको छ ।

उदयपुरकालागि प्रभात किरणले सर्वाधिक २६ रनको योगदान दिए । मोरङका प्लेयर अफ द म्याच प्रेम कामतले ५ विकेट लिँदा दिपेश कँडेल र मिनस थापाले २/२ विकेट लिए ।

७७ रनको सामान्य लक्ष्य पछ्याएको मोरङले १५ ओभरमा विना क्षति सो लक्ष्य पार गरेको थियो । मोरङको जितमा सकिव हकले अविजित ३६ रन बनाउँदा चिराग साहले अविजित ३१ रनको योगदान दिए ।

मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले इलामलाई ३८ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको सुनसरीले निर्धारित ४० ओभरको खेलमा ३० ओभरमा सवै विकेट गुमाई ९२ रनको सामान्य योगफल बनायो । सुनसरीकालागि सुमन घतानीले सर्वाधिक ४२ रनको योगदान दिए । प्लेयर अफ द म्याच इलामका हेमन राईले ७ विकेट लिए ।

९३ रनको विजयी लक्ष्य पाएको इलाम १७ दशमलव २ बलमा सबै विकेट गुमाई ५४ रनमा सिमित भयो । इलामका शिवान्स बजगाइँले सर्वाधिक १६ रनको योगदान दिए । सुनसरीका प्रकाश खत्रीले ४ विकेट लिँदा भुपाल लुइटेलले पनि ४ विकेट लिए ।

लिगको चरणको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुर गरी ५ टिम सहभागि रहेको कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेले बताए । बिहीबारसम्म हुने खेलमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई प्रधानमन्त्री कप–२०८१ का लागि छनोट गरिने उनले बताए ।