विराटनगर– नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि भएको मतदान बुधबार नै सकिए पनि बिहीबार दिउँसोसम्म मतगणना सुरु हुन सकेको छैन । निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले एमाले मोरङ पार्टी कार्यालयमा बिहीबार बिहानबाट मतगणना गर्ने भने पनि हालसम्म सुरु नहुँदा पार्टीका नेता तथा कार्यकर्ता सशंक्ति बनेका छन् । निर्पाचन समितिले दिउँसो ३ बजेबाट मतगणा गर्ने सम्पूर्ण तयारी भइसकेको जनाएको छ । 

‘निर्वाचन समितिले बिहानैदेखि मतगणना सुरु गर्ने भनेको तर दिउँसोसम्म पनि सुरु नहुँदा सबै मतदाता तथा कार्यकर्ताहरु निर्वाचन परिणाम नै नसुनी आ–आफ्ना घर फर्केका छन्,’ एक जिल्ला नेताले भने, ‘पार्टीको अधिवेशनले नेता तथा कार्यकर्तामा बढेको उत्साह निर्वाचन समितिको ढिलासुस्ती तथा लापरवाहीले अन्यौलता छाएको छ ।’ मतगणना स्थलबाट नेता तथा कार्यकर्ता घर फर्किएसँग पार्टी कार्यालयमा चहलपल घटेको छ । 

निर्वाचन अधिकृत श्रेष्ठले मतगणनाका लागि बैठक सकिएर गणना गर्ने तयारी गरिसकेको सुनाए । बुधबार अबेर रातीसम्म भएको मतदानमा कूल मतदाता ९११ जनामध्ये ८८८ जनाले मतदान गरेको छन् । 

अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव दुई र सदस्य गरी १६५ सदस्यीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ७१ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचनमा संस्थापन र संस्थापन इत्तर प्यानल बनाएर नेताहरु चुनावी प्रतिस्पर्धामा उत्रेका हुन् । 

संस्थापन पक्षबाट अध्यक्षमा पूर्वप्रदेश सांसद राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा इर्जालाल राजबंशी र विराटनगर महानगर उपप्रमुख शील्पा कार्कीलगायत छन् भने इत्तर पक्षबाट अध्यक्षमा जिल्ला समन्वय समिति मोरङ प्रमुख अजबर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तावा र जिल्ला समन्वय समितिकी उपप्रमुख उषा झा ठाकुरलगायत चुनावी प्रतिस्पर्धामा छन् ।