संखुवासभा – कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादी चतुरमान तामाङलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ। संखुवासभा जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका तामाङलाई मंगलबार इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
५१ वर्षीय तामाङ संखुवासभाको चैनपुर नगरपालिका-९ का स्थायी हुन्। भोजपुरका ३६ वर्षीय पर्शुराम विकको २०६१ साल चैत २२ मा हत्या गरेको अभियोगमा जिल्ला अदालत संखुवासभाले २०६७ साल कात्तिक १७ मा उनलाई २० वर्ष कैद सजायको फैसला सुनाएको थियो। तर, फैसला भएपछि उनी फरार थिए।
प्रहरीले उनलाई चैनपुर नगरपालिका-९, खाम्लिङ क्षेत्रबाट पक्राउ गरी जिल्ला अदालत संखुवासभामा पेश गरेको थियो। अदालतको आदेशअनुसार उनलाई कैद भुक्तानका लागि कारागार कार्यालय खाँदबारी पठाइएको छ।