विराटनगर — ललितपुरकी ४५ वर्षीया सविना आचार्य जीवनभर निष्ठा र श्रद्धाले बाँचेकी महिला हुन् । यही श्रद्धा लिएर उनी वैशाख ७ मा बुबाआमा र दुई सन्तानलाई लिएर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गर्न आइपुगेकी थिइन् । तर देवताप्रति समर्पित यात्रामा जाँदा बाटोमै नियतिले यति क्रूर रूप लियो कि सविनाको आँखा अगाडि उनको संसार नै खरानी बन्यो ।

फुङलिङस्थित होटल प्यारिजमा बास बसेर उनीहरूले सोमबार बिहान सबेरै मन्दिर पुग्ने योजना बनाएका थिए । होटल सञ्चालकमार्फत चालक दुर्गा भट्टराईसँग बोलेरो ट्याक्सीको व्यवस्था भयो । रातको साढे तीन बजे नै गाडी आइपुगेको थियो । तर गन्तव्य पुग्नु त परै जाओस्, सेवारो चोक नजिकैको खाल्टे सडकमा गाडी माथिबाट लत्रिएको विद्युतको तारमा ठोक्कियो । त्यसपछि सबैथोक एकाएक बदलियो ।

गाडीमा करेन्ट लागेपछि आगो सल्कियो । त्यो आगोमा जलेर सविनाकी १६ वर्षीया छोरी आध्या, उनका बुबा विनोद पौडेल (७०), आमा सरिता पौडेल (६९) र चालक दुर्गा भट्टराईको घटनास्थलमै ज्यान गयो । सविना गाडीबाट निस्कन त सकिन् तर झन्डै डेढ मिटर टाढा पुगेकी उनी पनि गम्भीररूपमा घाइते भइ लडिन् । १० वर्षीय छोरा भविमय आचार्य भने केही छिटो उत्रिएर बचे ।

पछाडि रहेको गाडीमा यात्रा गरिरहेका चितवनका जनार्दन भण्डारीले जलिरहेको गाडी देखे । भविमय रुँदै सडकमा उभिएर सहयोग मागिरहेका थिए । सविनालाई देखेर उनले गाडी रोके । ‘हात उठाउँदै थिइन्, गाडीबाट लडेको थिइन्,’ भण्डारीले भावविह्वल हुँदै भने, ‘उद्धार गर्दा छोरी, आमाबुवा, चालक कोही सकसको आवाज निकाल्न सक्ने अवस्थामा थिएनन् ।’

यात्रा धर्मको थियो, मृत्युलाई भेटियो
तपाईं कल्पना गर्न सक्नुहुन्छ – ती सविना जसले आफ्ना अभिभावकको इज्जत गर्दै मन्दिर दर्शन गराउने सपना देखेकी थिइन्, आफ्नै छोरीलाई देवीको आशिर्वाद दिलाउने चाह राखेकी थिइन् – उनले एकैपटक सबै गुमाउनुप¥यो । सविना र उनको छोरो भविमयको मुटुमा यो दुर्घटनाको घाउ सधैँ आलो रहनेछ । हिजोका हाँसो, सम्झना र आफ्नो परिवारको मुहार अब सपना बनेर बाँकी रह्यो ।

‘तार चट्याङले खसेको हो’ भनेर उम्किन खोज्दै प्राधिकरण
विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका प्रमुख सुरेश चौधरीले चट्याङका कारण तारको पिन फुटेर तार लत्रिएको दाबी गरे । तर यथार्थ यही हो कि यस क्षेत्रमा ढल्केका पोल, लत्रेका तार र जथाभावी व्यवस्थापन कुनै नयाँ कुरा होइन । जनताको ज्यान गयो, तर जिम्मेवार निकायहरूले अझै ‘अनभिज्ञता’को आवरण ओढेर उम्किन खोजिरहेका छन् ।

श्रीमान् डाक्टर, सविना काठमाडौँको अस्पतालमा
सविनाका श्रीमान् काठमाडौँस्थित हेम्स अस्पतालका चिकित्सक हुन् । दुर्घटनाको खबर पाएपछि हेलिकप्टरमार्फत घाइते श्रीमती र छोरालाई काठमाडौँ लगेका छन् । सविनाको अवस्था गम्भीर छ । भविमयको शरीरमा पनि जलन छ तर अहिले स्थिर अवस्थामा छन् ।

यो एउटा दुर्घटना मात्रै होइन, यो परिवार नामको संसारलाई थिलथिलो पारेको महाविपत्ति हो । सविना जति बलियो बनून् । तर उनको आँखाबाट छोरी आध्या, बुबा र आमाको अनुहार कहिल्यै मेटिने छैन । मन्दिरसम्मको यात्रा जिन्दगीकै अन्तिम मोड बन्नेछ भन्ने कसलाई थाहा थियो ?