काठमाडौँ- नेपाल प्रहरीका हालै बढुवा भएका जनपद समूहतर्फका छ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको पदस्थापन गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा अनुमोदन गरेलगत्तै गृह मन्त्रालयको पत्रअनुसार प्रहरी प्रधान कार्यालयले उनीहरूको पदस्थापन गरेको हो।
बढुवा भएकाहरूमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी रहेका छन्। एआईजी खापुङलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा, आचार्यलाई कार्य विभाग, पोखरेललाई प्रशासन विभाग, कार्कीलाई मानवस्रोत विकास विभाग, अधिकारीलाई अपराध अनुसन्धान विभाग र केसीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ।
गृह मन्त्रालयले वैशाख ११ देखि लागू हुने गरी उनीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। यसअघि वैशाख ४ गते बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको थियो।