विराटनगर– काभ्रेको मण्डनदेउपुर नगरपालिकाले नगरभित्रका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरूलाई आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गराउन निर्देशन दिएको छ।
नगरपालिकाले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै यही वैशाख मसान्तभित्र भर्ना गरिएको प्रमाण पेश गर्न सबै सरोकारवालालाई निर्देशन दिएको हो।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित नगरपालिकाले २०८१ चैत २६ मा बसेको नगर शिक्षा समितिको निर्णयलाई कार्यान्वयनमा ल्याउन विशेष उर्दी जारी गरेको हो ।
नगरप्रमुख टोकबहादुर वाइबाका अनुसार निर्णय कार्यान्वयन नभएको पाइएकोले पुनः सूचनामार्फत स्पष्ट निर्देशन दिनुपरेको हो। ‘निर्णय कार्यान्वयन गराउन नगर दत्तचित्त रहन्छ,’ उनले भने ।
नगरपालिकाले यस्तो पहल सार्वजनिक विद्यालयमा जनविश्वास बढाउने र राज्यको शैक्षिक पूर्वाधार सुदृढ गर्न योगदान पुग्ने अपेक्षा गरेको छ।
— रासस