विराटनगर– मोरङको रतुवामाई–३ मिर्चा डाँगी टोलमा करेन्ट लागेर दुई महिलाको ज्यान गएको छ भने एक जना घाइते भएकी छन्।

मंगललाल सिंहका छोरा निरजकुमार सिंहको विवाह समारोहका क्रममा मंगलबार राति नाचगान भइरहेको बेला ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार विवाहमा माइक जडान गर्न हरियो बाँस प्रयोग गरिएको थियो, जुन हाइटेन्सन लाइन नजिकै गाडिएको थियो। राति करिब ८ बजेतिर आएको हावाहुरीका कारण बाँस ढलेर विद्युत् लाइनमा ठोक्किँदा करेन्ट सर्ने घटना भएको हो।

उक्त दुर्घटनामा ३० वर्षीया राधाकुमारी सिंह पनि घाइते भएकी छन्। उनी सामान्य उपचारपछि नगर अस्पताल झुर्कियाबाट घर फर्किएकी छन्।

गम्भीर घाइते अवस्थामा रहेका रामुदेवी र सुर्यदेवीलाई उपचारका लागि तत्काल रंगेली अस्पताल पु¥याइएको थियो, तर चिकित्सकहरूले दुवैलाई मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

#रतुवामाई