विराटनगर– हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसले गर्दा आज विभिन्न प्रदेशमा आंशिकदेखि सामान्य बदली र वर्षाको सम्भावना देखिएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही, देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसोको समयसम्म देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा तथा अन्य पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातसमेत हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।मौसमको यस्तो अवस्थाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

#मौसम