ओयुन एर्डेनको परिवारलाई सरकारी कोषको दुरुपयोग गरेको, भ्रष्टाचारमा संलग्न भएको र अत्यधिक विलासी जीवनशैली अपनाएको आरोप लागेको छ। प्रधानमन्त्रीका छोराले आफ्नी प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गर्दै छुट्टी मनाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आक्रोश झन् बढेको हो।
विराटनगर — मंगोलियाका प्रधानमन्त्री लुभ्सान्नामस्राइन ओयुन एर्डेनले संसदमा विश्वासको मत गुमाएपछि पदबाट राजीनामा दिएका छन्। सन् २०२१ मा सत्तामा आएका उनले चार वर्षभन्दा बढी कार्यकाल पूरा गरेका थिए।
गत वर्षको आमनिर्वाचनमा प्रधानमन्त्री ओयुन एर्डेन नेतृत्वको मंगोलियन पिपुल्स पार्टी (एमपीपी) ले बहुमत हासिल गर्न नसकेपछि तीन दलको गठबन्धन सरकार बनेको थियो। तर पछिल्लो समय उनी सरकार सञ्चालनमा कमजोर देखिन थालेका थिए।
दुई सातादेखि राजधानी उलानबटारमा प्रधानमन्त्रीको परिवार भ्रष्टाचारमा संलग्न रहेको भन्दै विरोध प्रदर्शन चर्किएको थियो। यही विरोधको चपेटामा परेका प्रधानमन्त्री ओयुन एर्डेनले संसदको गोप्य मतदानमा ६४ मध्ये ४४ मत मात्र पाए। संविधानअनुसार विश्वासको मत नपुगेपछि उनले मंगलबार औपचारिक रूपमा राजीनामा दिएका हुन्। नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्म उनी कार्यवाहक प्रधानमन्त्रीका रूपमा रहने छन्।
ओयुन एर्डेनको परिवारलाई सरकारी कोषको दुरुपयोग गरेको, भ्रष्टाचारमा संलग्न भएको र अत्यधिक विलासी जीवनशैली अपनाएको आरोप लागेको छ। प्रधानमन्त्रीका छोराले आफ्नी प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गर्दै छुट्टी मनाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आक्रोश झन् बढेको हो।
बीबीसीका अनुसार भाइरल तस्बिरमा प्रधानमन्त्रीका छोरा र उनकी प्रेमिकाले इन्गेजमेन्ट मनाइरहेको दृश्य छ, जसमा स्विमिङ पुलमा चुम्बन गरेको र जन्मदिनको बधाई दिने क्याप्सन ‘ह्याप्पी बर्थ डे टु मी’ लेखिएको देखिन्छ। यसरी सार्वजनिक भएको निजी तस्बिरले सादा जीवनप्रति विश्वास राख्ने सर्वसाधारणको आस्थामा चोट पुगेको विश्लेषण गरिएको छ ।
सोमबार पनि सयौं युवाहरू सेतो प्लेकार्डसहित संसद भवनअगाडि भेला भएका थिए। उनीहरूले ‘राजीनामा त सजिलो हो’ भन्ने नारा लगाउँदै व्यापक भ्रष्टाचार र सामाजिक अन्यायविरुद्ध आक्रोश पोखेका थिए।
राजीनामाअघि संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओयुन एर्डेनले आफूविरुद्ध ‘अदृश्य स्वार्थ समूह’ ले सरकार ढाल्न षड्यन्त्रपूर्ण ढंगमा संगठित अभियान चलाएको आरोप लगाएका थिए। तर उनका तर्कहरूले संसदलाई विश्वस्त पार्न सकेन।
प्रधानमन्त्रीको कार्यालयले यसअघि एएफपीलाई दिएको बयानमा सबै आरोप अस्वीकार गरेको थियो। तर जनआक्रोश कम हुन सकेन।सत्तारूढ गठबन्धनमा अब नेतृत्व परिवर्तनको तयारी सुरु भएको छ। मंगोलियाको राजनीतिमा यस घटनाले गम्भीर तरंग ल्याउने संकेत देखिएको छ।
#मंगोलिया# राजनीति