विराटनगर – देशका केही भागमा आज (शुक्रबार) हल्कादेखि मध्यम मात्रासम्मको वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भेकमा मुख्यतया सफा वा आंशिक बदली रहने उल्लेख गरिएको छ।

कोसी प्रदेशका केही स्थानहरू तथा अन्य पहाडी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ।

रातिको मौसमबारे जानकारी दिँदै विभागले कोसी प्रदेशसहित पहाडी क्षेत्रमा आंशिक बदली रहने उल्लेख गरेको छ। बाँकी भूभागहरूमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ।

कोसी प्रदेशका थोरै स्थानहरू तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानहरूमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ।

त्यस्तै कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना पनि गरिएको छ।

मौसमी प्रणालीको सन्दर्भमा विभागले हाल देशको पश्चिमी र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको र कोसी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायु सक्रिय रहेको जानकारी दिएको छ।

नोट: यात्रु, कृषक तथा उच्च भूभागमा कार्यरतहरूलाई मौसमको अवस्थाबारे सतर्क रहन विभागले अनुरोध गरेको छ।

#मौसम