विराटनगर– बालिकाको बलात्कार गरेको आरोपमा दाङमा एक र रुपन्देहीमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीयालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका २२ वर्षीय चन्द्र प्रसाद नाथलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले ती बालिकालाई शान्तिनगर–४ बगब्डवास्थित रानीवनको जंगलमा लगेर बुधबार बिहान बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले  पक्राउ गरेको हो ।

अर्को घटनामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रूपन्देहीमा दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउहरूमा देवदह नगरपालिका–३ गौरी टोलका २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा  छन् । उनीहरूले ती बालिकालाई मंगलबार राति बलात्कार गरेको जाहेरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।