विराटनगर- वीरगन्ज भन्सार क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बलले भेटाएको एक झोलाभित्र साढे ५८ लाख रुपैयाँ बढी मूल्यको हिरा र सुनका गहना रहेको खुलेको छ ‌।

सीमा सुरक्षा गुल्मबाट खटिएको टोलीले गत शनिबार वीरगन्ज भन्सारको मूल गेटको सडकमा भारतबाट आउने गाडीको नियमित चेकजाँचका क्रममा एक सवारी साधनबाट बरामद बेवारिसे झोलाबाट ५८ लाख ६६ हजार ९ सय २७ रुपैयाँ मूल्यको हिरा र सुनका विभिन्न गहना भेटिएको हो ।  

प्रहरीका अनुसार उक्त झोलामा १० हिरा जडित बाला, एक ब्रासलेट, ९ फेन्सी ब्रासलेट, ४औंठी, ४ सुनको मंगलसूत्र , ११ अन्य गहना, ४ लकेट , १३ झुम्का  र ६ जोर कानको टप फेला परेको हो ।

सुनचाँदी व्यवसायी संघमा लगेर जाँच र मूल्यांकन गराउँदा सक्कली प्रमाणित  हिराका गहनाका बजार मूल्य ३६ लाख १५ हजार ८७ रुपैयाँ र सुनका गहनाको बजार मूल्य २२ लाख ५१ हजार ८ सय ४० गरी कूल ५८ लाख ६६ हजार ९ सय २७ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ‌

बरामद गहना आवश्यक कारबाहीका लागि सोमबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ‌‌। उक्त गहना कसले र किन ल्याएको बारेमा अहिलेसम्म खुल्न सकेको छैन ।