काठमाडौं– छ वर्ष अगाडि लुट र हत्या मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी काभ्रे बेथानचोक–६ सिउँरानीका ३६ वर्षीय बाबु लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

भक्तपुर जिल्ला अदालतको २०७५ भदौ ३ को फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भइ फरार रहेका लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले झापा मेची–६ काँकडभिट्टा एरियाबाट पक्राउ गरेको हो ।  

भक्तपुर मध्यपुर थिमी–१६ स्थित नरेफाँटमा २०६६ मंसिर २६ को राति बा.१ ज ९१४ नम्बरका ट्याक्सी चालक काभ्रे रोसी गाउँपालिका–४ लेम्बाबेसीका २५ वर्षीय मेघ बहादुर तामाङको हत्या गरी नगद र मोबाइल समेत लुटपाट गरेर फरार लामालाई अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको थियो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत भक्तपुर पठाइएको छ ।