धनुषा– जनकपुरधाम–२३ बिन्धी बस्ने १८ वर्षीय आँशु यादवको हत्या गरेको आरोपमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार धर्मेन्द्रले चक्कु प्रहार गर्दा आँशु गम्भीर घाइते भएकी थिइन् । उनको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । यो घटनाको सूचना लगतै प्रहरी चौकी जिरोमाईलबाट खटिएको टोलीले धर्मेन्द्रलाई पक्राउ गरेको हो । उनीहरुको सम्बन्ध र हत्याको कारण बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आफन्त र स्थानीयले यादवको शवसहित जनकपुर–जलेश्वर सडकखण्ड अवरुद्ध गरेका छन् । उनीहरूले घटनामा संलग्न अन्य दोषीहरुलाई यथाशीघ्र पक्राउ तथा क्षतिपूर्तिको माग गर्दै सडकमा शव राखेर प्रदर्शनमा उत्रिएको प्रहरीले जनाएको छ ।
पोस्टमार्टमपछि आइतबार शव बुझेर लगेका आफन्तसहित स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएको प्रहरीले जनाएको छ । पीडित पक्षका अनुसार शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा धर्मेन्द्रले छुरा प्रहार गर्दा छाती, ढाड र पेटमा गहिरो चोट पछि गम्भीर घाइते आँशुको उपचारको क्रममा साँझ करिब ६ बजे मृत्यु भएको थियो । प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो ।