विराटनगर- अमेरिकी मध्यपश्चिम र दक्षिणी क्षेत्रहरूमा आएको टोर्नाडोका कारण कम्तीमा ३७ जनाको ज्यान गएको छ।
शुक्रबारबाट सुरु भएका ती बवण्डरहरूले सबैभन्दा ठूलो क्षति मिसौरी राज्यलाई पुर्याए, जहाँ कम्तीमा १२ जनाको मृत्यु भएको छ।
टेक्सास र क्यान्ससमा आएको शक्तिशाली हुरीले धुलो आँधी उत्पन्न गर्यो, जसका कारण सवारी दुर्घटनाहरू भए र एक दर्जन मानिसको ज्यान गयो।
तीव्र हावाहुरीका कारण ओक्लाहोमामा १५० वटा भन्दा बढी डढेलो फैलिएको छ। अर्कान्सस, अलाबामा र मिसिसिपीमा पनि ज्यान गुमाउनेहरूको संख्या बढेको छ।
टेक्सास, लुइजियाना, अलाबामा, अर्कान्सस, टेनेसी, मिसिसिपी, जर्जिया, केन्टकी र नर्थ क्यारोलिनाका केही भाग बाढीको चेतावनी अन्तर्गत छन्।
भारी क्षति, आपतकाल घोषणा
विद्युत आपूर्तिको अनुगमन गर्ने पावरआउटेज युसका अनुसार आइतबार साँझसम्म ३ लाख २० हजार भन्दा बढी मानिसहरू विद्युतविहीन भएका थिए। अर्कान्सस, जर्जिया र ओक्लाहोमामा आपतकालीन अवस्था घोषणा गरिएको छ।
मिसौरीका गभर्नर माइक केहोले राज्यभरि विनाशको अवस्था 'स्तब्ध पार्ने' रहेको बताए। 'सयौँ घर, विद्यालय र व्यापारिक संरचनाहरू पूर्ण रूपमा ध्वस्त भएका वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्,' उनको विज्ञप्तिमा उल्लेख छ।
बटलर काउन्टीका एक घरमा आएको टोर्नाडोले त्यहाँका बासिन्दाको ज्यान लिएको छ, जुन 'घर भनेर चिन्नै नसकिने अवस्थामा पुगेको छ' भनी स्थानीय फरेन्सिक अधिकारी जिम एकर्सले बताए। 'त्यो एउटा भग्नावशेष मात्र थियो,' उनले थपे। 'भुइँ उल्टो परेको थियो, हामी भित्ताहरूमा हिँडिरहेका थियौँ।'
अर्का राज्यहरूमा समेत क्षति
ओक्लाहोमामा ८३ माइल प्रतिघण्टा (१३३ किमी/घण्टा) को गतिको हुरीले १५० वटा डढेलो फैलाएको छ। ती आगलागीका कारण १ लाख ७० हजार एकड क्षेत्रफल जलेको छ । ३ सय संरचनाहरू नष्ट भएका छन्, जसमा राज्यका गभर्नर केभिन स्टिटको एउटा फार्महाउससमेत समावेश छ।
कान्ससमा, धुलो आँधीका कारण ५५ वटा सवारीसाधन ठोक्किँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ। टेक्सासमा, अर्को धुलो आँधीले ३८ वटा गाडी ठोक्किएर दुर्घटना हुँदा कम्तीमा ४ जनाले ज्यान गुमाए।
मिसिसिपीमा आएको टोर्नाडोले ६ जनाको ज्यान लियो भने अलाबामामा ८२ वर्षीया वृद्धासहित ३ जनाको मृत्यु भयो।
अर्कान्ससका अधिकारीहरूले ३ जनाको मृत्यु र २९ जना घाइते भएको जानकारी दिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्कान्ससमा राहत तथा उद्दारका लागि नेशनल गार्ड परिचालन गरिएको बताएका छन्।
'यी भयानक आँधीबाट प्रभावित भएका सबैको लागि मेलानिया र म प्रार्थना गरौँ भन्ने अनुरोध गर्दछौँ!' उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरे।