काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले चीनको केरुङतर्फ लैजान लागेको २५ करोड अवैध रकमबारे विशेष छानबिन समिति गठन गर्न माग गरेका छन् । प्रहरीले मंगलबार टोखास्थित झोरबाट उक्त भारी परिमाणको रकम बरामद गरेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा यो रकम हवाला कारोबार तथा अवैध तस्करीसँग सम्बन्धित भएको आशंका गरिएको छ ।
प्रतिनिधिसभा बैठकमा बुधबार सांसद सापकोटाले उक्त घटनाले सङ्गठित अपराध र तस्करीको जालो कति गहिरो छ भन्ने पुष्टि गरेको बताए । उनले नेपालको इतिहासमै सबैभन्दा ठूलो अवैध रकम बरामद भएको घटनाले देशलाई तरङ्गित बनाएको भन्दै यसबारे गम्भीर अनुसन्धान गर्नुपर्ने माग राखे।
‘यस्ता घटनामा प्रायः ड्राइभर र भरियामात्र पक्राउ पर्छन्, तर वास्तविक तस्करहरू उम्किन्छन् । त्यसैले यस प्रकरणमा विशेष प्रकारको छानबिन समिति गठन गरियोस्,’ सांसद सापकोटाले भने । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पनि तस्करी नियन्त्रणमा सरकारको कमजोरी औँल्याउँदै भने, ‘यदि वास्तविक संलग्नहरूलाई कानुनी दायरामा ल्याइएन भने, सरकारले आँखामा छारो हाल्ने काम मात्र गर्नेछ।’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले यो घटनाले मुलुकमा अवैध तस्करी कति बढेको छ भन्ने तथ्य उजागर गरेको बताइन्।