काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेचेप तैय्यप एर्दोआनसँग टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट गरिएको यस संवादमा राष्ट्रपति एर्दोआनले यो विषयलाई गम्भीरतापूर्वक लिँदै आवश्यक कदम चाल्ने आश्वासन दिएका छन्।

यसअघि, प्रधानमन्त्री ओलीले फागुन २७ गते इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसीसँग पनि टेलिफोन संवाद गरी विपिनको रिहाइका लागि सहयोगको आग्रह गरेका थिए। इजिप्टका राष्ट्रपतिले पनि यस विषयमा आफ्नो प्रयास जारी राख्ने बताएका थिए।

विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि हमासको आक्रमणका क्रममा बन्धक बनाइएका थिए। उनी 'लर्न एण्ड अर्न' कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत थिए। इजरायल र हमासबीचको दोस्रो चरणको बन्दी आदानप्रदानको सूचीमा विपिनको नाम प्राथमिकतामा पार्न नेपाल सरकारले कूटनीतिक प्रयास जारी राखेको छ।

प्रधानमन्त्री ओलीले आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिक सम्मेलनमा सहभागी हुन राष्ट्रपति एर्दोआनको निमन्त्रणालाई स्मरण गर्दै दुई देशबीच आर्थिक, विज्ञान तथा प्रविधि क्षेत्रका सहकार्य र परस्पर सम्बन्ध विस्तारबारे पनि छलफल गरेका छन्। साथै, प्रधानमन्त्री ओलीले जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने सगरमाथा संवाद कार्यक्रममा राष्ट्रपति अल–सिसीलाई निमन्त्रणा गरेका छन्। जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर आयोजना गरिने यस विश्वव्यापी संवादमा सहभागिताका लागि प्रधानमन्त्रीले आग्रह गरेका छन्।

नेपाल सरकारले विपिन जोशीको सुरक्षित रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर समन्वय र सहयोगका प्रयासहरू जारी राखेको छ। विपिनको परिवार र नेपाली समाजले उनको सकुशल रिहाइको प्रतीक्षामा छन्।