काठमाडौं– ज्ञानेन्द्र शाहको सुरक्षाकर्मीमा कटौती गरिएको छ । सशस्त्र प्रहरीले राति साढे ११ बजे राजा रहिसकेका  शाहका १० जना सुरक्षाकर्मीलाई फिर्ता बोलाएको हो ।

डिएसपीको कमाण्डमा रहेका सशस्त्र प्रहरीको २५ जनाको टोलीमा १० जनालाई हटाएर १५ जना कायम गरिएको छ । ‘केही दिनमा अर्को निर्णय हुने छ,’ सशस्त्र प्रहरीका एक उच्च अधिकारीले भने ।

सरकारले पूर्वराष्ट्रप्रमुखको हैसियतमा दिइएका सबै सुविधालाई कटौती गर्ने तयारी गरिरहेको बेला सशस्त्र प्रहरीको टोली घटाइएको हो । नारायणहिटी राजदरबारबाट हटेपछि पूर्वराजपरिवारलाई नेपाल सरकारले आवाससहितको सुविधा दिइरहेको छ । 

पूर्वराजपरिवारले प्रयोग गर्दै आएको नागार्जुन दरबार नेपाल सरकारले आवास सुविधा अन्तर्गत उपलब्ध गराएको हो । निर्मल निवास भने पूर्व राजा ज्ञानेन्द्रको निजी एवं स्थानीय निवास हो ।

पूर्वराजपरिवारका सबै सदस्यहरूको सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरीका १ सय ५५ जना सुरक्षाकर्मी खटाएको थियो । त्यस्तै इन्धनसहित तीनवटा सवारी साधनसमेत उपलब्ध गराउँदै आएको छ । तीमध्ये सशस्त्र प्रहरी बलका २५ जना ज्ञानेन्द्रको सुरक्षाका लागि खटिएका थिए ।

परिवारका सदस्यहरूको सुरक्षाका लागि खटाइएको टोली पनि फिर्ता गरिएको छ । ‘परिवारका सदस्यलाई दिइएको सुरक्षा दुई दिनभित्र सशस्त्रको कार्यदलमा हाजिर हुने छन्,’ सशस्त्र प्रहरी बल मुख्यालय स्रोतले भन्यो । तर सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी कुमार न्यौपानेले डिएसपीको कमाण्डमा १५ जना सुरक्षाकर्मी खटिएको जानकारी दिएका छन् । उनले कार्यविधि अनुसार सुरक्षाकर्मी खटाइएको बताए ।