काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा शुक्रबार आफूलाई जेल हाल्ने चुनौती दिएका छन् । प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलका सांसदहरूले राजावादीहरूलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएपछि लिङ्देनले छाती ठोक्दै भने, ‘राजावादी यहाँ छ, सके जेल हाल ! ’

लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसद्मा सत्ता पक्षबाट कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि… छाती ठोकेर भनियो, राजावादी यहाँ छ, सके जेल हाल !’ उनले संसदमा बोलिरहँदा बेलाका आक्रोशित मुद्राका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल छन् । 

लिङ्देनको यो अभिव्यक्तिले नेपालको वर्तमान राजनीतिक परिदृश्यमा राजतन्त्र पुनःस्थापनाको बहसलाई थप चर्काएको छ । राजावादी आन्दोलनको भविष्य र राप्रपाको भूमिका सम्बन्धी बहसहरू सामाजिक सञ्जाल र मिडियामा चलिरहेका छन् ।