विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले स्वस्थ जीवनका लागि नियमित योग गर्नु आवश्यक रहेको बताएका छन् । पतञ्जली योग महानगर समितिले आयोजना गरेको योग शिविरको समापन समारोहमा प्रमुख कोइरालाले योगको माध्यमबाट धेरै रोग लाग्नबाट बच्न सकिने धारणा राखेका हुन् । 

‘नियमित योग गर्दा धेरै किसिमका रोग लाग्नबाट बच्न सकिन्छ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो । त्यसका लागि योग गर्नु निकै महत्वपूर्ण छ,’ उनले भने, ‘विद्यालय तहदेखि नै योगका कक्षाहरु सञ्चालन गर्दा योग संस्कृतिको विकास हुन सक्छ ।’ प्रविधिको विकाससँगै मानिसको जीवनशैलीमा आमूल परिवर्तन आएको कोइरालाको भनाइ थियो । 

‘राति अबेरसम्म मोबाइल चलाउने र बिहान ढिलो उठ्नाले मान्छेलाई रोगी बनाइरहेको छ । बिहान छिट्टै उठेर नियमित योग गर्ने हो भने हतपत्ति रोगले आक्रमण गर्दैन भन्ने मलाई लाग्दछ ।’ उनले भने । 

पतञ्जली योग समिति र महिला पतञ्जली योग समिति मोरङको समन्वयमा फागुन १६ गतेदेखि निःशुल्क योग शिविर सुरु भएको थियो । पाँचदिने योग शिविर मंगलबार सम्पन्न भएको हो । शिविर निकै नै फलदायी भएको समितिकी अध्यक्ष शिल्पा प्याकुरेलले जानकारी दिइन् ।