विराटनगर– बेपत्ता समाज परिवार नेपालका अध्यक्ष रुपेश शाहले संक्रमणकालिन न्याय निरुपणमा देशी र विदेशी शक्तिहरुले चलखेल गरिरहेको आरोप लगाएका छन् । 

अनौपचारिक सेवा क्षेत्र (इन्सेक) कोशी प्रदेशले आइतबार विराटनगरमा आयोजना गरेको संक्रमणकालीन न्यायः चुनौती र भावी कार्यदिशा विषयक अन्तरक्रियामा अध्यक्ष शाहले संक्रमणकालिन न्याय निरुपणमा पिडीतभन्दा अन्य स्वार्थ समूहलाई नै बढी चासो रहेको भन्दै आपत्ति जनाएका हुन् । 

‘संक्रमणकालिन न्याय पिडीतलाई चाहियो कि अरु कसैलाई ?,’ उनले प्रश्न गरे, ‘संक्रमणकालिन न्यायका लागि वकालत गर्दै आएका व्यक्तिहरुमाथि पिडीतले विश्वास गर्ने अधिकार के ?’ पिडीत जहिल्यै पनि पिडीत नै भइरहेको अध्यक्ष शाहले गुनासो पोखे । उनले इन्सेकका पूर्वअध्यक्ष सुबोधराज प्याकुरेल, संस्थापक अध्यक्ष शुशिल प्याकुरेललगायत संक्रमणकालिन न्यायका लागि वकालत गर्दै आएका व्यक्तिहरुबाट नै पिडीतहरु बढी प्रताडित भएको गुनासो पोखे । उनीहरुले पिडीतहरुसँग अनेक बाचा गरेर फर्केपछि अथवा आवश्यक परेको खण्डमा फोन सम्पर्क गर्न खोज्दा मरिगए पनि फोन नउठाइदिने गरेको अध्यक्ष शाहले गुनासो पोखे । 

उनले संक्रमणकालिन न्यायका लागि वकालत गर्नेहरुमाथि नै प्रश्न उठाएका छन् । शाहले उनीहरुलाई स्वार्थ समूहको संज्ञा दिएका हुन् । ‘संक्रमणकालिन न्याय निरुपण अब कहिले हुन्छ ? बेपत्ता परिवारहरुले कुशको शव बनाएर बेपत्ताको अन्तिम संस्कार गर्न सुरु गरिसकेको छ,’ उनले भने, ‘अब हामीलाई न्याय चाहिएन । किन चाहियो ? कुनैपनि विषयको समय सीमा हुँदैन ? आजीवन त्यही दुःख सम्झेर हामी पिडीतलाई बाँचिरहनु पर्ने हो ?’

संक्रमणकालिन न्याय निरुपणका लागि कानुन बनाउने समयमा आयोगको सदस्य चयनका लागि न्यायिक सिफारिस समिति बनाउनु पर्ने र ७५ प्रतिशत माफी दिनुपर्ने विषय पिडीतहरुले उठाउँदा मानवअधिकारकर्मीहरु किन मौन बसेको र अहिले किन चासो देखाएको भन्दै शाहले प्रश्न उठाए । 

राजनीतिक विशलेषक प्रा.डा. कृष्ण पोखरेलले सिफारिस समितिले आयोग सदस्यको चयन गर्दा राज्यको आवश्यक्ता तथा पिडीतको न्यायका लागि जोसुकैले योगदान गर्न तयार हुनुपर्ने बताएका छन् । उनले इच्छाविपरित सिफारिसमा परेका व्यक्तिले आयोगमा बसेर इमानदारीपूर्वक कर्तव्यनिष्ठ भएर सर्तहरुसहित जानुपर्ने सुझाव दिएका हुन् । 

सङ्क्रमणकालीन न्याय प्रक्रियाको प्रभावकारी कार्यान्वयनका लागि मानवअधिकार, राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनका विज्ञ, द्वन्द्वको कहाली र पीडाको अध्ययन, अनुसन्धान र चिन्तन गरेका पङ्क्तिबाट आयोगको पदाधिकारी चयन हुनुपर्ने इन्सेकका पूर्वअध्यक्षहरुले बताएका छन् ।  

कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष तथा सङ्क्रमणकालीन न्याय निगरानी समितिका संयोजक सुशील प्याकुरेलले सङ्क्रमणकालीन न्यायलाई सही दिशामा लैजान हरसम्भव प्रयास गरिराख्नु पर्ने बताएका हुन् ।
 
‘सङ्क्रमणकालीन न्यायका लागि गठन हुने आयोगमा राजनीतिक दलले भागवण्डा गर्ने प्रयास गर्नेछन्’ प्याकुरेलले भने ‘अधिकारकर्मी र सरोकारवालाहरुले उपयुक्त मान्छे खोज्न र राम्रो मानिसको खोजीमा सहयोग गरिरहनु पर्छ ।’ प्याकुरेलले सङ्क्रमणकालीन न्यायलाई साँचो अर्थमा टुङ्याउने हो भने आयोगको पदाधिकारी छनौट प्रकृयालाई विश्वसनिय र पारदर्शी बनाउन प्रदेश स्तरमा भएपनि इमान्दारीपूर्वक छलफल गर्नुपर्ने बताए । 

सङ्क्रमणकालीन न्याय निरुपण नभए पीडितको समस्या यथावत रहने र सबैमाथि प्रश्नचिन्ह उठने भन्दै प्याकुरेलले आयोगमा योग्यता पुगेको अध्यक्ष आवश्यक रहेको बताए । कसले, कहाँ, कहिले कुन किसिमको मानवता विरुद्धको अपराध ग¥यो भन्ने तथ्याङ्क इन्सेकसँग अभिलेख रहेको र सहयोगका लागि तत्पर रहेको भन्दै उनले समस्या समाधानका लागि वातावरण मिलाउन र व्यवहारवादी भएर हिँड्न सक्ने व्यक्तिको खोजीमा चनाखो भएर चासो लिनुपर्ने बताए । 

इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेलले द्वन्द्व रुपान्तरण गरेर मात्र द्वन्द्व समायोजन हुने बताए । राज्यले द्वन्द्वका कारक तत्व पहिल्याउन र समाजले कमजोर पीडितलाई जोगाउन जरुरी रहेको भन्दै उनले देखिजान्ने, सुनिजान्ने, परिस्थितिजन्य प्रमाणका आधारमा सत्य स्थापित हुनुपर्ने बताए । द्वन्द्वपीडितले विश्वास गरेका मानिसले मात्र सत्य स्थापित गर्न सक्ने भन्दै इन्सेकका पूर्व अध्यक्ष प्याकुरेलले पीडित र पीडकसँगै समाजका मानिसलाई राखेर समाधान खोज्नुपर्ने बताए ।