काठमाडौँ – राप्रपाका नेताहरु धवल शमशेर राणा र रविन्द्र मिश्रलाई थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । चैत १५ को तीनकुनेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको सांसद समेत रहेका राणा र मिश्रमाथि राज्यविरुद्धको आरोप लगाएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उक्त अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले राज्यविरुद्धको अपराध कसुरमा राणासहित २० जनालाई थप अनुसन्धान गर्न १५ दिनको म्याद थप दिइएको बताए । तीनकुने घटनामै संलग्न रहेको आरोपमा आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान गर्न अरु ७८ जनालाई पनि प्रहरीले पक्रेको छ । उनीहरुलाई अनुसन्धानका लागि थप २० दिनको म्याद अदालतले दिएको छ ।

राजसंस्था पुनःस्थापनका लागि भन्दै दुर्गा प्रसाईंको नेतृत्वमा भएको आन्दोलन अनियन्त्रित हुँदा दुई जनाको ज्यान जानुका साथै निजी घर, पार्टी कार्यालय, सवारी साधन, सपिङ कम्प्लेक्समा आगजनी तथा तोडफोड भएको थियो ।