विराटनगर– रौतहट प्रहरीले १ सय ९ किलोग्राम लागूऔषध गाँजा र लोडेड कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेकासँगै रहेका ६÷७ जना भने घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती टोलीले ईशनाथ नगरपालिका–१ स्थित झोलुङ्गे पुलको पश्चिम किनारमा रहेको केरा बगैँचाबाट गौर–४ का २१ वर्षीय सावन गिरीलाई पक्राउ गरेको हो ।

रौतहटका प्रहरी  प्रमुख एसपी दिलीप घिमिरेका अनुसार गिरीलाई पक्राउ गरिएको र घटनास्थलबाट फरार भएकाहरुको खोजी तीव्र पारिएको छ । पक्राउ परेका गिरीको साथबाट प्रहरीले १०९ किलोग्राम गाँजा, ‘८ एमएम केएफ’ लेखिएको एक थान लोडेड कटुवा पेस्तोल, सोही ब्राण्डका ३ राउन्ड गोली, रियलमी कम्पनीको टचस्क्रिन मोबाइल एक थान बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार गिरीमाथि लागूऔषध नियन्त्रण तथा हातहतियार खरखजाना सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ ।