काठमाडौँ — हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायतका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यो क्रम राति पनि जारी रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना छ । यसबाट हालसम्म देशव्यापी रहिरहेको तुवाँलो क्रमिक रूपमा कम हुने देखिन्छ ।
मौसम पूर्वानुमान महाशाखाले चट्याङसहितको वर्षाले दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । नागरिकहरूलाई चट्याङ र वर्षाका समयमा सतर्क रहन, खुला स्थानमा नजान र सुरक्षित स्थानमा बस्न सल्लाह दिइएको छ । साथै किसानहरूलाई कृषि कार्यमा आवश्यक सावधानी अपनाउन र यातायात क्षेत्रका सम्बन्धित निकायहरूलाई सम्भावित अवरोधहरू ध्यानमा राखी पूर्वतयारी गर्न अनुरोध गरिएको छ ।