विराटनगर– सुनसरीको धरान–६ स्थित पञ्चकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा मृत भेटिएकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको हत्या श्रीमान् प्रेम दाहालको योजनामा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका प्रेम दाहालले श्रीमतीको हत्या गराउन भारु पाँच लाख रुपैयाँमा सुपारी दिएका थिए । उनले पहिले नै ३० हजार रुपैयाँ अग्रिम रूपमा बुझाएका थिए भने बाँकी रकम हत्या सम्पन्न भएपछि दिने सर्त रहेको बताइएको छ । हत्याका लागि भारतबाट एक व्यक्ति नेपाल आएका थिए ।

गत सोमबार दिउँसो गोठालाहरूले लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा महिलाको शव फेला पारेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार मृतका परिवारका सदस्यहरु सहित हत्यामा ६ जना संलग्न रहेको देखिएको छ ।

प्रहरीले हालसम्म चार जनालाई पक्राउ गरेको छ । उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतमा म्याद थप गरिएको छ । हत्याका कारण र पक्राउ परेकाहरूको पहिचान भने आजै पत्रकार सम्मेलनमार्फत जानकारी गराइने बताइएको छ ।

चुनुकुमारी धनकुटाको महालक्ष्मी–२ की स्थायी हुन् । करिब दुई वर्षदेखि छोरालाई पढाउनका लागि सुनसरीको इटहरी–२, हलगडामा डेरा गरी बस्दै आएकी थिइन् । उनका माइतीजन महालक्ष्मी नगरपालिका–१ मा बस्छन् ।