विराटनगर– विराटनगर महानगरपालिकाको सहयोगमा गैरसरकारी संस्था महासंघ मोरङले आइतबारदेखि दुई दिने प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम आयोजना गरेको छ । तालिमको महानगर प्रमुख नागेश कोइरालाले उद्घाटन गरेका छन् । 

कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरेका हुन् । ‘आफूसित भएको सीप कसैले खोस्न नसक्ने भएकोले सीप हुनेले जहाँसुकै गएर पनि आत्मनिर्भर जीवन बाँचन सक्छ,’ उनले भने, ‘विराटनगरवासीलाई सीप सिकाएर आत्मनिर्भर र स्वरोजगार बनाउने बाटोमा महानगर अगाडि बढेको छ ।’ संस्था सञ्चालन गर्दा प्रस्ताव र प्रतिवेदन आवश्यक पर्ने बताउँदै कोइरालाले गैससले यसपटक समय सान्दर्भिक तालिम आयोजना गरेको बताए । 

कार्यक्रममा गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले विभिन्न सरकारी कार्यालयहरुसँग मिलेर कार्यक्रम सञ्चालन गर्दा प्रस्ताव र प्रतिवेदन लेख्न नआउँदा संस्थाका पदाधिकारीहरुले धेरै नै दुःख पाउने गरेको बताइन् । 

तालिमका सहभागी ४० जनालाई विराटनगर महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतम र गैससकी उपाध्यक्ष सरिता लामिछानेले प्रशिक्षण दिने आयोजक संस्थाकी सहसचिव वाग्मती कट्टेलले जानकारी दिइन् । 

वर्षौँदेखि संस्था सञ्चालन गर्दै आएकाहरुलाई प्रस्ताव र प्रतिवेदन लेख्न तालिममा महानगरले गरेको लगानी बालुवामा पानी जस्तै भएको विराटनगरका संघ संस्था सञ्चालकहरुले नै गुनासो पोखेका छन् । महानगरले गैससमार्फत नै उत्पादन र उत्पादकत्व बढाउने कार्यक्रममा बजेट लगानी गर्दा परिणाममुखी हुने उनीहरुको भनाइ थियो ।