काठमाडौँ– शिक्षाविद्हरूले चिकित्सकहरूको माग सम्बोधन गरेर आन्दोलन अन्त्य गर्न सरोकारवाला पक्षलाई आग्रह गरेका छन् । चिकित्सकको जारी आन्दोलनका कारण स्वास्थ्य संस्थाहरूबाट प्रवाह हुने सेवा अवरुद्ध भएको भन्दै ६ जना शिक्षाविद्हरूले यस्तै आग्रह गरेका हुन् ।
आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै केदार भक्त माथेमा, प्रा.डा. सुरेशराज शर्मा, प्रा.डा. अर्जुन कार्की, प्रा.डा. मदन प्रसाद उपाध्याय, डा. गुणराज लोहनी र प्रा.डा. जगदीशप्रसाद अग्रवालले निजी मेडिकल कलेजलाई संवेदनशील बन्न आग्रह गरेका छन् ।
सरकारले औपचारिक निर्णय गरेर तोकेको निर्वाह भत्ता निजी मेडिकल कलेजमा समेत पालना हुनुपर्ने मागसहित हाल स्नातकोत्तर तहको तालिममा रहेका चिकित्सकहरू आन्दोलनमा छन् । आन्दोलनमा चिकित्सक संघको समेत संलग्नता छ ।
‘यस्तो गम्भीर परिस्थितिमा निजी मेडिकल कलेज सञ्चालकहरूले मुनाफा आर्जन गर्ने अभिलाषाभन्दा माथि उठेर स्नातकोत्तर तहका प्रशिक्षार्थी चिकित्सकहरूलाई निर्वाह भत्ता दिने विश्वव्यापी प्रचलनलाई स्वीकारेर विद्यमान संकटको अन्त्य गर्ने तर्फ लाग्नु श्रेयकर हुनेछ,’ शिक्षाविद्हरूको सुझाव छ ।
प्रशिक्षार्थी चिकित्सकहरूको बौद्धिक श्रम शोषण कुनै पनि दृष्टिकोणले स्वीकार्य हुन नसक्ने उल्लेख गर्दै उनीहरूले स्नातक तहको सिट संख्या र शुल्क वृद्धिका विषयहरू छुट्टै हुने भएकाले निर्वाह भत्ताको विषयसँग जोड्ने सर्त राख्न उपयुक्त नहुने बताएका छन् ।
‘गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न गुणस्तरीय चिकित्सा शिक्षा अपरिहार्य रहेको तथ्य सर्वविदितै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ चिकित्सकहरूको यो आन्दोलनको अन्त्यको लागि सकारात्मक भूमिका निभाउन सबै सरोकारवालाहरूलार्ए हामी आग्रह गर्दछौँ ।’