विराटनगर– देशभरको मौसम आइतबार आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
बाँकी भूभागका एक–दुई स्थानमा पनि यस्तै खालको मौसम देखिने सम्भावना रहेको छ। देशका हिमाली क्षेत्रमा समेत एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
कोशी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भूभागमा राति आंशिकदेखि साधारण बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। साथै गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।