काठमाडौँ — सुरक्षण मुद्रण केन्द्रमा उपकरण खरिद प्रक्रियामा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई एक वर्ष छ महिनाको कैद सजायसहित करोडौँ जरिवाना गर्ने फैसला सुनाएको छ। अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले आइतबार सुनाएको फैसलामा पौडेलमाथि १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ बिगो बराबरको जरिवाना गरिएको छ।
साथै उनी कार्यकारी निर्देशक पदमा रहेर भ्रष्टाचार गरेको प्रमाणित भएकाले थप ६ महिनाको कैदसमेत तोकिएको छ। उक्त मुद्दाका अन्य प्रतिवादी म्याक्स इन्टरनेसनल प्रालि र त्यसका सीईओ अकबर हुसेनलाई पनि दोषी ठहर गर्दै समान जरिवाना र बिगो असुल गर्न आदेश दिइएको छ।
अकबर हुसेनलाई समेत १ वर्ष ६ महिनाको कैद सजाय तोकिएको छ। तीनै दोषी— विकल पौडेल, म्याक्स इन्टरनेसनल र अकबर हुसेनले जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ क्षतिपूर्ति रकम पीडित राहत कोषमा दाखिला गर्नुपर्ने विशेष अदालतको आदेश छ।