विराटनगर– देशभरिको मौसम सोमबार आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम खालको वर्षा हुन सक्ने सम्भावना छ ।

महाशाखाले देशका हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि औंल्याएको छ । देशको पहाडी भूभागमा सोमबार राति आंशिकदेखि साधारण बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । 

यस्तै रातको समयमा पनि सबै प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानहरूमा तथा अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।