विराटनगर — भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा शाहको मृत्युको घटनाप्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गम्भीर बनेको छ।

शिक्षामन्त्री रघुजी पन्तले सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा उपसमितिको बैठकमा मन्त्रालयले घटनालाई प्राथमिकताका साथ अध्ययन गर्न थालेको जानकारी दिएका छन्। मन्त्री पन्तले मन्त्रालयका सम्बन्धित अधिकारीहरूलाई विद्यार्थी पठाउने एजेन्सीहरूको पहिचान गरी ती एजेन्सीसँग छलफल गर्न निर्देशन दिएका छन्।

‘मैले मन्त्रालयमा सम्बन्धित अधिकारीहरूलाई विश्वविद्यालयमा कुन–कुन एजेन्सीबाट विद्यार्थी पठाइएको हो, ती एजेन्सीका प्रतिनिधिसँग बसेर घटनाको प्रकृति बुझ्न निर्देशन दिएको छु,’ मन्त्री पन्तले बैठकमा भने, ‘यस विषयमा काम अघि बढिरहेको छ।’

उनले घटना घट्ने बित्तिकै परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर विस्तृत जानकारी लिन पनि निर्देशन दिइसकेको बताए। मन्त्रालयले यस विषयमा आवश्यक अन्तरसंस्थागत समन्वय गरिरहेको उनको भनाइ छ।

विद्यालय शिक्षा विधेयक : उपसमितिको म्याद १० दिन थप

विद्यालय शिक्षा विधेयकको प्रारूप अन्तिम बनाउनका लागि गठन गरिएको संसदीय उपसमितिको कार्यकाल १० दिन थपिएको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत एमाले सचिव छविलाल विश्वकर्माको संयोजकत्वमा रहेको उपसमितिले पहिले पाएको ३५ दिनको समयसीमा सकिएपछि म्याद थपको आग्रह गरेको थियो।

समितिका सभापति अम्मरबहादुर थापाले सोमबारको बैठकमा म्याद थपको प्रस्ताव पेश गरेका थिए, जसलाई बैठकले पारित गरेको हो। समितिका अनुसार विधेयकका कतिपय विषयहरूमा अझै छलफल आवश्यक रहेकाले थप समय लिइएको हो।