काठमाडौँ — ओमान सरकारले भिसाविहीन भएर अवैध रूपमा बसोबास गरिरहेका नेपालसहितका आप्रवासी श्रमिकलाई स्वदेश फर्किन तीन महिनाको आममाफी योजना घोषणा गरेको छ। श्रम मन्त्रालयमार्फत सार्वजनिक उक्त योजनाअनुसार जरिवाना तिर्नु नपरी श्रमिकहरूले स्वदेश फर्किन सक्ने छन्।

ओमानस्थित नेपाली दूतावासका अनुसार यो योजना २०२५ जुलाई ३१ सम्म लागू हुनेछ। भिसाविहीन नेपाली नागरिकलाई यही समयसीमाभित्र स्वदेश फर्कन आग्रह गर्दै दूतावासले विज्ञप्ति जारी गरेको छ। ‘यो सुवर्ण अवसरको लाभ उठाउनु हुन ओमानमा रहनुभएका सम्बन्धित नेपाली नागरिकहरूलाई अनुरोध गरिन्छ,’ दूतावासको विज्ञप्तिमा उल्लेख गरिएको छ।

स्वदेश फिर्ती प्रक्रिया सहज बनाउन नेपाली दूतावासले स्वयंसेवीसमेत नियुक्त गरेको छ। ओमानमा हाल करिब २२ हजार नेपाली कार्यरत छन्, जसमा १० हजारजति महिला श्रमिक छन्।

भिसाविहीन नेपालीको यकिन संख्या भने खुलाइएको छैन।पछिल्लो समय भिजिट भिसामार्फत घरेलु श्रमिकका रूपमा ओमान पुगेका नेपाली महिला श्रमिकहरू भिसा अवधि सकिएपछि कानुनी हैसियत गुमाइ बसोबास गरिरहेको दूतावासले जनाएको छ।