विराटनगर– नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पाथीभरा देवीको दर्शनका लागि मंगलबार ताप्लेजुङ पुगेका छन्। सदरमुकाम फुङलिङस्थित मेवाखोला हिल रिसोर्टमा उनले मिक्वाखोला गाउँपालिकाका पदाधिकारीहरूसँग भेटवार्ता गरेका छन्।

राजदूत श्रीवास्तव र मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, उपाध्यक्ष डण्डु शेर्पा, प्रमुख प्रशासकीय अधिकृत विमल गौतमसहितको टोलीबीच फुङलिङमा भेटघाट भएको हो। भेटका क्रममा मिक्वाखोला गाउँपालिका–४ साँवामा भारतीय दूतावासको आर्थिक सहयोगमा बन्ने भवनसम्बन्धी विषयमा छलफल भएको अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिए। 

उक्त  परियोजनाका लागि भारतले चार करोड रुपैयाँ विनियोजन गरिसकेको छ। गाउँपालिका–१ खोक्लिङका लागि समेत प्रस्ताव गरिएको उनले बताए।पालिका अध्यक्ष कार्कीले राजदूत श्रीवास्तवलाई मायाको चिनो समेत प्रदान गरेका थिए।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार राजदूत श्रीवास्तवले माथिल्लो फेदीमा मंगलबार राति बसेर बुधबार पाथीभरा मन्दिरको दर्शन गर्ने प्रारम्भिक कार्यक्रम तय भएको थियो। तर ढिलो फुङलिङ आइपुगेकाले मंगलबारको रात त्यहीँ बस्ने निर्णय भएको प्रशासन स्रोतले जनाएको छ।