काठमाडौँ – चेक बाउन्ससम्बन्धी बैंकिङ कसुरमा दोषी ठहर भइ जरिवाना र कैद सजाय पाएका मदिरा व्यापारी अमित अग्रवाल पक्राउ परेका छन्।
स्वयम्भू क्षेत्रबाट मंगलबार उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो। परिसरका प्रमुख एसपी अपिलराज बोहराका अनुसार अग्रवालमाथि उच्च अदालत पाटनले २०८० जेठ २२ मा एक करोड ५० लाख रुपैयाँ जरिवाना र ३० दिन कैदको सजाय सुनाएको थियो, जुन हालसम्म भुक्तान नभएकाले पक्राउ गरिएको हो।
४७ वर्षीय अग्रवाल सागर डिष्टिलरी प्रालिका सञ्चालक हुन्। उनी काठमाडौंको कान्तिपथमा रहेको ‘ग्रीनलाइन सेन्टर प्रालि’ को सञ्चालकसमेत थिए। सन् २०७८ मा कम्पनीमा ताला लगाएर परिवारसहित भारत भागेपछि उनी सार्वजनिक चासोमा आएका थिए।
अग्रवालमाथि पुमोरी डेभलपर्स प्रालिले चेक अनादर (बाउन्स) को मुद्दा दायर गरेको थियो। पुरानो व्यवसायिक चिनजानका आधारमा अग्रवालले कम्पनी तथा व्यक्तिगत नाममा पटक–पटक गरेर रकम लिएका थिए। उक्त कारोबारको सिलसिलामा उनले चेकमार्फत तिर्ने प्रयास गरे पनि चेक बाउन्स भएपछि मुद्दा चलाइएको हो।
यसअघि पनि उनलाई २०८० असार २१ मा तीन हजार र २०८० फागुन २४ मा चार हजार रुपैयाँ जरिवाना हुने गरी अलग–अलग चेक अनादरका फैसलाहरू भइसकेका थिए।
सर्वसाधारणको निक्षेपबाट बैंकहरूले ग्रीनलाइन सेन्टरमा गरेको लगानी जोखिममा परेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस प्रकरणको अनुसन्धान गरेको थियो। सञ्चालक अग्रवाल फरार भएपछि प्रारम्भिक अनुसन्धान महानगरीय प्रहरी परिसर, काठमाडौँले थालेको थियो।