विराटनगर— मानव बेचबिखन तथा ओसारपसारको आरोपमा धादिङ गल्छी गाउँपालिका–२ का २४ वर्षीय रोजन भुजेललाई सोमबार साँझ प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ।
वीरगञ्ज–१६ स्थित शंकराचार्य गेट नजिकको सडकबाट भारततर्फ लैजान लागेको दुई युवतीसहित भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले गैरसरकारी संस्था ‘आफन्त नेपाल’ का प्रतिनिधिको उपस्थितिमा उनलाई पक्राउ गरेको जनाइएको छ।
प्रहरी अनुसन्धानका क्रममा भुजेलले ती युवतीहरूलाई हेटौँडा तथा वीरगञ्जका कपडा कारखानामा राम्रो आम्दानी हुने भन्दै भारत लैजाँदै गरेको र अन्ततः बेचबिखन गर्ने उद्देश्य रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको पर्सा प्रहरी कार्यालयले जनाएको छ।उनलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसूरमा ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।