काठमाडौँ — नेपाल सरकारले जेठ २ देखि ४ सम्म काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणमा कुनै पनि मुलुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुख सामेल नहुने भएका छन्। अधिकांश देशहरूले मन्त्रीस्तरका प्रतिनिधिमण्डल, विशेष दूत वा राजदूतलाई मात्र पठाउने तयारी गरेका छन्।
सरकारले ३५० जनाभन्दा बढी विदेशी पाहुनालाई निमन्त्रणा पठाएको थियो। तीमध्ये थुप्रै मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखहरू पनि थिए। तर हालसम्म कुनै पनि राष्ट्राध्यक्ष वा सरकार प्रमुखले सहभागिता पुष्टि गरेका छैनन्।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार सगरमाथा संवादमा करिब १७५ जना विदेशी पाहुनासहित करिब त्यत्तिकै संख्यामा नेपाली सहभागी हुनेछन्। उनका अनुसार १२ देशबाट उच्च तहका प्रतिनिधिमण्डल आउनेछन्।
संवादमा ६१ देशका अन्तर्राष्ट्रिय संघसंस्थाहरूको पनि उपस्थिति रहनेछ। चीन, भारत, अजरबैजान, बंगलादेश, भुटान, माल्दिभ्स, जापान, संयुक्त अरब राष्ट्र, बेलायत, कतार, किर्गिजस्तान, ओमान, ब्राजिल, इजिप्ट लगायतका देशहरूबाट मन्त्री, उपमन्त्री, विशेष दूत, पूर्वमन्त्री तथा राजदूतस्तरका प्रतिनिधिहरू सगरमाथा संवादमा सहभागी हुने पक्का भइसकेको छ।
त्यस्तै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडी प्रयास (बिमस्टेक) का महासचिव, राष्ट्रसंघीय निकाय, विश्व बैंक र एशियाली विकास बैंकका उच्च अधिकारीहरूले पनि सहभागिता जनाउनेछन्।
परराष्ट्रमन्त्री राणाका अनुसार बहराइन र पाकिस्तानबाट पनि प्रतिनिधिमण्डल सहभागी हुनेछन् तर कुन तलकाले प्रतिनिधित्व गर्ने भन्ने अझै खुलाइएको छैन।
#सगरमाथा संवाद